बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–३ नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै भएको न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
विहिबार दिउँसो न्यू एभरेष्ट एकेडेमी स्कुलको ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना हुँदा बागलुङ नगरपालिका–३ का १५ वर्षीय विद्यार्थी अमन बोहोराको मृत्यु भएको थियो ।
आज फेरि अर्का घाइते सोही ठाउँको १३ वर्षीया विद्यार्थी सुजन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी बसन्त पाण्डेले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
स्कूल भ्यान दुर्घटना हुँदा २६ जना विद्यार्थी, चालक र शिक्षिका घाइते भएका थिए । दुर्घटनामा घाइते मध्ये ८ जनालाई पोखराको मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।
साथै धौलागिरी प्रादेशिक अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका चालक विर मगरलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको छ । स्कूल भ्यान दुर्घटनाको विषयमा छानविन गर्न जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विश्वबन्धु अर्यालको संयोजकत्वमा शुक्रबार छानविन समिति गठन भएको थियो ।













































































































































































































