बागलुङ । बागलुङमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । त्रिदिवसीय कार्यक्रमसहित राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय अनुसार आज पहिलो दिन रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय कार्यालय बागलुङ, बागलुङका सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटी बागलुङको संयोजनमा रक्तसञ्चार केन्द्रमा रक्तदान गरिएको छ । रक्तदानमा विभिन्न व्यक्तिहरुबाट पन्ध्र युनिट रगत संकलन भएको रक्तसञ्चार केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताए ।
रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
शुक्रबार बसेको प्रजातन्त्र दिवस–२०८२ मूल समारोह समितिको बैठकले यही फागुन ६ देखि ८ गतेसम्म विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको थियो ।
तीन दिनसम्म सम्पूर्ण सरकारी कार्यालय र सर्वसाधारणका घरमा दीप प्रज्वलन गर्ने, ६ गते रक्तदान र फागुन ७ गते बिहान बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको संयोजनमा बाङ्गेचौरस्थित सहिद स्मृति उद्यानमा माल्यार्पणसहित जेन्जी आन्दोलनका घाइतेलाई सम्मान गरिने भएको छ ।
सोही दिन बागलुङ उद्योग वाणिज्य संघको संयोजनमा मानवसेवा आश्रममा खाद्यान्न सामग्री वितरण र साँझ छ बजे लोकतान्त्रिक चोकमा सामूहिक दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।
फागुन ८ गते शिक्षा विकास तथा समन्वय इकाई र बागलुङ नगरपालिकाको शिक्षा शाखाको संयोजनमा धवलागिरि बहिरा आवसीय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिने संयोजक थापाले बताए ।
नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको संयोजनमा प्रजातन्त्र दिवस सम्बन्धी सामग्री प्रसारण÷प्रकाशन र परिसम्वाद कार्यक्रम गर्ने निर्णय भएको जनाइएको छ ।







































































































































































































