३ श्रावण २०८३, आईतवार

 

खामेनेईले भनेका थिए–स्वाभिमान छ, क्रान्ति र इस्लाममा अर्पण गर्न चाहन्छु

सन् २००९ मा इरानका सर्वोच्च धार्मिक नेता अयातोल्लाह अली खामेनेईले भावुक मन्तव्य दिएका थिए । उनले भनेका थिए, ‘मसँग विपन्न आत्मा छ । अपूर्ण शरीर छ । र छ तपाईंले दिएको अलिकति स्वाभिमान । म यसलाई क्रान्ति र इस्लाममा अर्पण गर्न चाहन्छु ।’

बेलायती विश्व समाचार च्यानल बीबीसीले ४ अप्रिल सन् २०११ मा लेखेको समाचारमा खामेनेईका यी भावुक लाइन छन् । १७ वर्षपछि खामेनेई शनिबार मारिए । अमेरिका र इजरायलको संयुक्त हमलापछि खामेनेई मारिएका हुन् ।

अमेरिका र इरानले जेनेभामा वार्ता गरेको एक हप्ता नपुगी खामेनेई मारिएपछि अमेरिकाले कूटनीतिक वार्ताको नाट्य मञ्चन गरेर हमला गरेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना भइरहेको छ । ट्रम्पको कूटनीतिक अपरिपक्वतामा धेरैले प्रश्न उठाएका छन् ।

सन् २०१२ ताका तत्कालीन राष्ट्रपति बाराक ओबामाले सत्ता लम्ब्याउन इरानमा हमला गर्ने सार्वजनिक आरोप लगाउने ट्रम्पले अहिले इप्स्टिन फाइलको मुद्दाबाट ध्यान मोड्न इरानमा हमला गरेको अमेरिकी टिप्पणीकारहरूले नै बताएका छन् ।

अझ रोचक कुरा त युद्धको विरोध गरेर सत्तामा आएका ट्रम्पले इरानमाथि प्रत्यक्ष हमला गरी सर्वोच्च नेताको हत्या गरेर युद्धको जेहाद छेडे । प्रतिक्रियास्वरूप इतिहासमा पहिलोपटक अरब क्षेत्रका सबै अमेरिकी सैन्य शिविरमा इरानले हमला गर्‍यो । हमलाको केन्द्रमा खामेनेई मारिएको मुद्दा छ ।

११ वर्षको उमेरबाटै धार्मिक गुरु

खामेनेईको जन्म सन् १९३९ मा भएको थियो । त्यो बेला इरानमा इस्लामिक गणतन्त्र आइसकेको थिएन । धर्मनिपरेक्ष राजा शाह महोमद रेजा पल्लवी थिए । राजाले धर्मलाई पुरातनपन्थ मान्थे ।

त्यस्तो बेलामा इरानको धार्मिक नगरी मासादमा जन्मिएका खामेनेईले धार्मिक पोसाक लाउँदा धेरैले गिज्याउँथे । साथीभाइसँग खेल्दा उनलाई धेरै सकस हुने उनको जीवनी लेखनमा जोडिएका मेहदी खालाजीले बीबीसीलाई बताएका थिए ।

राजतन्त्र ढाल्ने मोर्चामा सक्रिय, कम्युनिस्ट नेतासँगै जेलमा

खामेनेई धार्मिक क्षेत्रमा लागेता पनि राजनीतिक रूपमा पनि सक्रिय थिए । इरानमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याउनमा उनको जोडबल थियो । त्यसै क्रममा उनी जेलमा परेका थिए । उनका जेलमेट थिए इरानका मार्क्सवादी कम्युनिस्ट नेता हुसाङ असदी । बीबीसीलाई असदीले खामेनेईका बारेमा भनेका थिए, ‘उनी धेरै असल थिए । स–साना कुरामा चुट्किला भन्थे । उनलाई यौनमा कुनै चासो थिएन ।’

सत्तामा आउनुभन्दा अगाडि नै बम हमला

खामेनेई सत्तामा सन् १९८९ मा आएका थिए । सन् १९७९ मा स्थापना भएको इस्लामिक गणतन्त्रका संस्थापक अयातोल्ला रुहोल्लाह खोमेइनीको हृदयाघातबाट ज्यान गएपछि उनी सर्वोच्च नेताको रूपमा आएका थिए ।

उनी सत्तामा आउनुभन्दा अगाडी बम हमलाको सिकार भएका थिए । सन् १९८१ मा उनले पत्रकार सम्मेलन गर्दैगर्दा टेप रेकर्डरमा राखिएको विस्फोटक पदार्थ पड्केर उनी घाइते भए । उनको दायाँ पाखुरा चल्दैनथ्यो । उनले घटना बारेमा भन्ने गर्थे, ‘आक्रमणपछि म अन्त्यन्तै खराब अवस्थामा थिएँ । म बाँच्छु भन्ने त कसैले पनि कल्पना परेको थिएन ।’

टेप रेकर्डरमा बम हालेर पड्काउँदा जीवित भएका खामेनेई शनिबार अ‍ेमरिका र इजरायलको संयुक्त हमलामा परेर मारिए । रोचक कुरा इरानको इस्लामिक गणतन्त्रका संस्थापक नेता खोमेइनी जस्तै ८६ वर्षकै उमेरमा अस्ताए खामेनेई । उनी इरान गणतन्त्र स्थापना भएपछिका दोस्रो सर्वोच्च नेता हुन् ।

सिगरेट, बगैँचा र कविताका पारखी खामेनेई

बीबीसीले सन् २०११ मा लेखेको समाचार अनुसार खामेनेईले धार्मिक सभामा अमेरिकाविरुद्ध बोल्ने गर्थे । उनको राजनीतिक लाइन नै अमेरिकाविरोधी हो । सँगै खामेनेईका अरु सौख थिए । उनी सिगरेट पिउँथे । तर पछि धार्मिकता बढ्दै गएपछि पिउँन छोडे । बगैँचा गोडमेलमा व्यस्त हुन्थे । कविताका पनि पारखी भएको भतिजा महोमह मोरादखानीले बीबीसीलाई बताएका थिए । भनेका थिए, ‘उनी धेरै असल र सामाजिक थिए ।’

कसैका नायक, कसैका खलनायक खामेनेई

खामेनेई सत्तामा आएपछि इरानको परमाणु कार्यक्रम बलियो भयो । इरानको प्रभाव क्षेत्र इरानी सीमा पार गरेर अरब क्षेत्रभर फैलियो । हुथी, हमास र हिजबुल्लाहजस्ता सैन्य दस्ता हुन् वा विभिन्न राजनीतिक शक्ति सबैमा इरानले पकड बनायो ।

इजरायलले अरब क्षेत्रका सबै देशलाई ठेगान लगाएर राखेको बेलामा इजरायललाई पृथ्वीको नक्साबाट हटाउँछौँ भन्ने ताकत भएका अरब देशमा एक्लो बलियो देश इरान थियो, एक्ला जब्बर नेता खामेनेई थिए ।

अमेरिकी विश्व समाचार च्यानल सीएनएनले खामेनेईको मृत्युको समाचारमा उनले चार दशकसम्म अमेरिकी र इजरायली दबाब झेलेर बसेको भन्दै मध्यपूर्वका सबैभन्दा शक्तिशाली नेताको उपमा दिएको छ ।

इरानका समर्थकले इरानलाई अमेरिका र इजरायली दादागिरीको प्रतिरोध गर्ने नेताको रूपमा तारिफ गर्ने गर्छन् । अरु त अरु शनिबार इरानले अरब देशका सैन्य शिविरमा हमला गर्दा धेरै स्थानीयले खुसियाली मनाएका भिडियो सार्वजनिक भएका छन् ।

खामेनेईको समर्थनमा भारतको काश्मीरमा पनि प्रदर्शन भएका भिडियो सार्वजनिक भएका छन् ।

खामेनेई विवादरहित भने थिएनन् । उनले मानव अधिकार हनन गर्नेदेखि प्रतिपक्षीलाई ज्यादति गर्ने आरोप इरानकै असन्तुष्ट समूहबाटै उठ्दै आएको छ ।

पछिल्लो समय इरानका विश्वविद्यालयदेखि सडकसम्म भएका विद्यार्थी, सर्वसाधारण र महिलाको प्रदर्शनमा इरानले लिएको कठोर दमनमा खामेनेईलाई धेरैले आलोचना गरेका छन् । इरानको प्रदर्शनमा हजारौँ मारिएको बताइन्छ । त्यसमा पनि खामेनेईको आलोचना हुने गरेको छ ।

सन् १९९९ को प्रदर्शन, सन् २०१९ को प्रदर्शन, सन् २०२२ को प्रदर्शन र यो वर्षको प्रर्दशन इरानमा भएका ठूला प्रदर्शन थिए । सबैमा इरानले दमन गरेको थियो । अमेरिकी र इजरायली आडमा प्रदर्शन भएको भन्दै इरानी सरकारले दबाएको थियो ।

खामेनेईलाई अमेरिका र इजरायलले सैन्य हमलाबाट मार्दा इरान र विश्वभर देखाइएको खुसियाली मनाउनेका लागि खामेनेई खलनायक हुन् । तर, उनलाई अमेरिकी र इजरायली दादागिरीमा चट्टानी अडान लिएको भन्दै इरान र विश्वभरबाट तारिफ गर्नेका लागि उनी नायक हुन् ।

सिलापत्रबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung