बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले बागलुङ बजारमा केहि दिनदेखि जाली नोट भेटिएको भन्दै उद्योगी, व्यवसायी, सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाहरुलाई कारोबार गर्दा सतर्क रहन आग्रह गरेको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका महासचिव गोकुल प्रसाद कँडेलले बुधबार जारी गरेको विज्ञप्ती अनुसार पछिल्ला केही दिनदेखि बागलुङ बजार क्षेत्रमा हजार रुपैयाँको नक्कली नोट भेटिन थालेको छ ।
यसले बजारमा जाली नोट प्रयोग हुने तथा कारोबारमा जोखिम बढ्ने सम्भावना देखिएको बताइएको छ ।
बैंकमा जम्मा हुन आएका नोटमध्ये एउटै नम्बर भएको हजार रुपैयाँको नोट फेला परेकाले सुरक्षित ढंगले नगद आर्थिक कारोबार गर्न आग्रह गरिएको छ । बजारमा देखिएका यस्ता नोटहरू नेपाल राष्ट्र बैंकबाट जारी गरिएको वास्तविक नोट नभई अनधिकृत रूपमा बनाइएका जाली नोटभएको संगठनको भनाइ छ ।
यस गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई नगद कारोबार गर्दा नोट राम्रोसँग जाँच गरेर कारोबार गर्न नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले आग्रह गरेका छन् ।
विशेषगरी पसल, उद्योग तथा वित्तीय क्षेत्रमा नक्कली नोट आउन सक्ने भएकाले सचेत रहन अनुरोध गरिएको छ ।
साथै कारोबार गर्दा जाली नोट फेला परेमा नजिकको बैंक तथा वित्तीय संस्था वा स्थानीय प्रशासनसँग समन्वय गर्न तथा आवश्यक परेमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङमा सम्पर्क गर्न संगठनका महासचिव कँडेलले अपिल गरेका छन् ।
चाडपर्वको बेला नगद कारोबार गर्दा नक्कलि नोट उल्लेख्य रूपमा पसल वा वित्तीय क्षेत्रमा आउन सक्ने भएकाले सर्वसाधारण, उद्योगी, व्यापारी तथा वित्तीय संस्थाहरूलाई जाली नोटबाट जोगिन र सरोकारवालाहरुलाई सचेत गराउनु सबैको कर्तव्य भएको संगठनका कोषाध्यक्ष मनकाजी विश्वकर्माले अनुरोध गरेका छन् ।














































































































































































































