बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विसं १९९७ सालमा स्थापना भएको बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलस्थित विद्यामन्दिर माध्यमिक विद्यालयको शुक्रबार अवलोकन गर्नुभएको छ ।
विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले विद्यालयको ऐतिहासिक पृष्ठभूमी र विद्यालयले सुरु गरेको शैक्षिक सुधारको बारेमा जानकारी गराउनु भएको थियो ।
प्रधानाध्यापक रेग्मीले विद्यालयको विज्ञान प्रयोगशाला कक्षलाई अझ व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्नको लागि थप भवन चाहिने भएकोले मुख्यमन्त्री पाण्डेलाई थप एक तला भवन निर्माणको लागि प्रस्ताव गर्नु भएको थियो ।
साथै विद्यामन्दिर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले विद्यालयमा निर्माण भएको खेलकुद मैदान, विद्यालयको सिमानामा लगाउन सुरु भएको तारबार, खानेपानीको व्यवस्थापन र पूर्वाधार निर्माणको बारेमा जानकारी गराउदै डिजिटल पुस्तकालय र दुई वटा स्मार्ट कक्षा कोठा निर्माण आवश्यक बजेट व्यवस्थाको लागि पहल गरिदिनु हुन मुख्यमन्त्री पाण्डेलाई अनुरोध गर्नु भएको थियो ।
बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले विद्यामन्दिर माविलाई प्रदशकै नमूना विद्यालयको रुपमा विकास गर्नको लागि नगरपालिकाले पहल थालेको बताउनुभयो ।
त्यसको लागि नगरले आवश्यक बजेट विनियोजित गरेको उहाँको भनाई थियो ।
विद्यामन्दिर माविका पूर्वप्रधानाध्यापक जगन्नाथ आचार्यले राणा कालमा शिक्षासेवी ओमकार गौचन र मेघकुमार वैद्यको नेतृत्वमा निर्माण यस विद्यालयले राष्ट्रियस्तरमा योगदान दिएका सचेत जनशक्ति उत्पादन गरेको विद्यालय भएकोले यसको संरक्षण र विकासमा सबै सरोकारवालाहरुले हातेमालो गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षता र विहानी ईन्चार्ज शिक्षक कुलराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।

















































































































































































































