३ श्रावण २०८३, आईतवार

 

गौरवका आयोजना प्रदेश सरकारको मुख्य प्राथमिकतामा छ : मन्त्री शेरचन

बागलुङ । गण्डकी प्रदेशका अर्थमामीला मन्त्री जीत शेरचनले प्रदेशका गौरवका आयोजनालाई अघि बढाउने बताउनुभयो । बागलुङको उत्तरगंगा परियोजनालाई अघि बढाउन पहल गर्ने बताउनुभयो ।

गृह जिल्ला बागलुङमा शनिबार नेपाली कांग्रेसद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै शेरचनले आर्थिक पारदर्शिता कायम गर्दै खर्च व्यवस्थापनमा सुधार गर्दै ठूला योजना सघाउने बताउनुभयो । कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सुध्रिदै सामुहिकताको भावना अपनाउन आग्रह गर्नुभयो ।
उहाँले अर्थ मन्त्रालय केवल बजेट व्यवस्थापनमा सीमित नभई प्राविधिक विषयसँग पनि जोडिएको महत्वपूर्ण मन्त्रालय भएको बताउँदै करको दर र दायरा, आर्थिक नीति निर्माणल गायतका विषयमा गहन अध्ययन भइरहेको जानकारी दिनुभयो ।

शेरचनले गण्डकी प्रदेशमा पूँजीगत खर्च अपेक्षाकृत कम भएको पाइएको उल्लेख गर्दै यसको कारण खोजी गरी विकास खर्च बढाउनेतर्फ ध्यान केन्द्रित गरिने बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका शेरचन बागलुङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो।

उहाँले छोटो समयमै परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यकर्तालाई विश्वास दिलाउनुभयो ।

त्यस्तै, उहाँले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको सिट घटे पनि पार्टी कमजोर नभएको दाबी गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung