बागलुङ । बागलुङको उद्योग व्यवसायको ऐतिहासिक पृष्ठभूमि चिनाउन र त्यसको प्रचार–प्रसारका लागि आयोजित फोटो प्रदर्शनी सम्पन्न भएको छ ।
शनिबार बागलुङ बजारमा भएको नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनका अवसरमा आयोजित फोटो प्रदर्शनीमा पुरानो उद्योग व्यवसाय, व्यावसायिक संगठनका गतिविधि र तत्कालिन उद्योगी व्यवसायी युवाहरुको जीवनशैली समेटिएका तस्वीरहरू प्रदर्शन गरिएको थियो ।
उक्त प्रदर्शनीले बागलुङको तीन सय वर्ष पुरानो व्यावसायिक परम्परा र पहिचान नयाँ पुस्तालाई चिनाउन र लगानीको वातावरण सृजना गर्ने मद्दत पुगेको आयोजकले जनाएको छ।
बागलुङ बजारको वेष्टवान रेष्टुरेन्टमा आयोजित प्रदर्शनीमा श्यामश्वेत तस्वीर मात्र राखिएको थियो ।
उक्त तस्वीरले तत्कालिन उद्योगी व्यवसायी युवाहरुले गरेको संघर्ष, कठोर मेहनत र तपस्या झल्काएको नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रदर्शनीमा बागलुङ बजारका देउराली चोक, राधाकृष्ण टोल, नौबीसे टोलका किनारा, कपडा, सुन, पुस्तक पसलको तस्वीरहरु राखिएको थियो ।

साथै विसं २०१६ सालमा विद्यामन्दिर माविका विद्यार्थीहरु लालचन्द्र राजभण्डारी, सूर्यप्रसाद श्रेष्ठ मिलन, डिल्ली प्रसाद शर्मा, धनकाजि श्रेष्ठ, अयोध्या प्रसाद वझान्थाक्षे र रामजी कुमार राजभण्डारीले पाल्पाबाट एसएलसी दिन जाँदाको तस्बिर, विसं २०१७ साल माघ ४ गते बागलुङ नगरपालिका–३ बुद्धचोकको खड्काको घरमा र त्यसपछि बागलुङ नगरपालिका–३ नौबीसे टोलको नारायण श्रेष्ठको घरमा रहेको नेपाल बैंक बागलुङ शाखाको कार्यालयको फोटो, विसं २०१८ सालमा बेनीको मंगलाघाट बजारमा रामजी कुमार राजभण्डारी र सुदर्शनकुमार राजभण्डारीले संचालनमा ल्याएको पुस्तक, स्टेशनरी र कपडा पसलको फोटो, विसं २०२१ सालमा बागलुङ नगरपालिका-३ देउरालीचोकमा व्यवसायी काशिप्रसाद श्रेष्ठ र श्रीमती मनकुमारी श्रेष्ठले किनारा पसलको तस्वीर राखिएको थियो ।

यस्तै विसं २०३१ सालको नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समितिको सामूहिक तस्वीर, विसं २०३२ सालमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्याम श्रेष्ठले महासंघको नवौं वार्षिक अधिवेशनमा प्रतिवेदन पेश गदै गरको तस्वीर, विसं २०३३ सालमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हरिप्रसाद गिरीसँग केन्द्रीय समितिका पदाधिकारी र सदस्यले खिचेको सामूहिक तस्वीर, बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लालचन्द्र राजण्डारी, श्याम श्रेष्ठ, रामनारायण श्रेष्ठ र सदस्यहरु आनन्दमान शाक्य, श्रेष्ठ, देवेन्द्र राज अधिकारी, हरि प्रसाद श्रेष्ठले विसं २०३६ सालमा काठमाडौंको शंकर होटलमा सम्पन्न महासंघको महाधिवेशनको तस्वीर र विराटनगरमा विसं २०२५ सालमा सम्पन्न औद्योगिक सम्मेलनमा भाग लिएको तस्वीर, नारायणचोकमा महिला व्यवसायीले महिलालाई चुरा लगाउँदै गरेको तस्वीर राखिएको थियो ।

विसं २०२८ सालको मुकुन्द शाक्य, काजी रोशन, हरि श्रेष्ठ, कल्याण श्रेष्ठ, लक्ष्मी आचार्य र सानु शाक्यको सामूहिक फोटो, देवबहादुर श्रेष्ठ, श्रवणलाल शाक्य, परशुराम श्रेष्ठ, ओम प्रसाद गौचन, ओमकार गौचन, विष्णु प्रसाद शेरचन, आनन्दमान शाक्य, अशोक गोविन्द राजभण्डारी, टुप्ला श्रेष्ठ, कृष्ण प्रसाद प्रधान भएको सामूहिक तस्वीरका साथै नेदरल्याण्डसका फोटो ग्राफर एड क्रामरले बागलुङ आउँदा खिचेका दुर्लभ तस्वीरहरु पनि प्रदर्शनीमा राखिएको थियो ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले इतिहास बोकेको तस्वीरले विगतको समाजको यथार्थ चित्रण गर्ने भएकाले फोटो पत्रकारिताको विशेष महत्त्व रहेको बताउनुभयो ।
बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्याम श्रेष्ठले तस्वीरमा तत्कालिन फोटो ग्राफरको समर्पण, दुःख, साहस र संघर्ष झल्किएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष सुवास गौतमले समाजका कथा क्यामेरामा कैद गर्दै इतिहास उजागर गर्न फोटो प्रदर्शनी सफल भएको धारणा व्यक्त गर्नुभयो ।
बागलुङको लुकेको उद्यमको इतिहास र व्यावसायिक परम्परालाई उजागर गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षासहित फोटो प्रदर्शनी आयोजना गरिएको नेपाल उद्योग व्यापार महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताउनुभयो ।













































































































































































































