३ श्रावण २०८३, आईतवार

 

बागलुङ बजारमा अव्यवस्थित तार र पोल धमाधम हटाइदै

बागलुङ । बागलुङ नगरपालिकाले बागलुङ बजारको अव्यवस्थित तार र पोल हटाई रहेको छ । नगरपालिकाले विद्युतीय दुर्घटना न्यूनीकरण गर्न र बजारको सौंदर्यीकरणको लागि अव्यवस्थित तार र पोल हटाउन थालेको हो ।

घरहरुको भित्ता पलाष्टर गरेर रङ्ग रोगन गर्ने, पुरानो विद्युतका पोल हटाउने, अव्यवस्थित तार हटाउने कार्य अहिले धमाधम भइरहेको छ ।

घना बस्ती रहेको बजारलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित अव्यवस्थित टेलिफोन, इन्टरनेट, केबल टिभी तथा विद्युतका तार र पोल हटाउने अभियान तीव्र पारिएको बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

शनिबार र आइतबार बिदाको दिनमा पनि नगरप्रहरी सहित कर्मचारीले दमकल, डोजरको सहायतामा अव्यवस्थित तार र पोल हटाई रहेको छ ।

हालसम्म बजार क्षेत्रमा करिब ५० वटा विद्युतका पोल हटाइसकिएको छ भने पोलको स्तरोन्नती पश्चात समेत नहटाइएको पोल काट्न थालिएको छ । यो अभियान समीक्षालय चोकदेखि हल्लनचोक, धौलागिरी चोक, जिपपार्क, अस्पताल रोड, बालमन्दिर रोड, लालीगुराँस चोकदेखि गोदामघरसम्म सम्पन्न भएको छ ।

अहिले अदालत रोडमा तार हटाउने काम भइरहेको छ ।

नगरपालिकाले बागलुङ बजारको सार्वजनिक शौचालय निर्माण, सडको कालोपत्रे, ग्राभेल, ढलान र पक्की नाली निर्माण, ऐतिहासिक पार्क पुननिर्माण र नक्सा पास गर्दा घरको बाहिर भागहरुको अनिवार्य प्लाष्टर गर्न लगाएर सौन्दर्यकरण अभियानलाई अगाडि बढाएको छ ।

अहिले हावाहुरी लाग्दा र पोल ढल्दा कुनै दुर्घटना नघटोस भनेर नगरवासी र सर्वसाधारणको जिउधनको सुरक्षा पहिलो प्राथमिकतामा राखेर अभियानलाई तिब्रता दिएको नगरपालिकाका प्रशासन प्रमुख भिमसेन पन्तले बताउनुभयो ।

बागलुङ बजार क्षेत्रमा भइरहेको यस कार्यले शहरको सौन्दर्य मात्र होइन, सुरक्षा व्यवस्थामा पनि उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

स्थानीय निकाय र सम्बन्धित निकायहरूको सहकार्यमा पुराना, प्रयोगविहीन तथा जोखिमयुक्त तार र पोलहरू हटाउने अभियान अघि बढाइएको हो।

यस अभियानले सडक दुर्घटनाको जोखिम कम गर्ने, आगलागी तथा विद्युतीय जोखिम घटाउने र शहरलाई सफा र व्यवस्थित बनाउने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung