३ श्रावण २०८३, आईतवार

 

जैमिनी नगरपालिका–३ को वडा कार्यालय भवनको उद्घाटन

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–३ ले आफ्नै नवनिर्मित वडा भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।बुधबार आयोजित एक समारोहमा गण्डकी प्रदेश सरकारका जितबहादुर शेरचनले भवनको उद्घाटन गर्नुभएको हो ।

वडाध्यक्ष कृष्णबहादुर भुजेलका अनुसार भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले ४० लाख रुपैयाँ र जैमिनी नगरपालिकाले ६० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शेरचनले गण्डकी प्रदेशको समृद्धिका लागि प्रदेश सरकारले आवश्यकताको आधारमा बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।

उहाँले विकासमा सबै क्षेत्रलाई समान प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै दमेक, लाप्राङदेखि मुस्ताङसम्मका गाउँको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

मन्त्री शेरचनले विकासका कामलाई प्रचारमुखी बनाउन नहुने बताउँदै पूर्व पुस्ताले पुल, बाटो निर्माण गर्दा प्रचारप्रसार नगरेको स्मरण गर्नुभयो । “विकास जनताका लागि हो, व्यक्तिगत प्रचारका लागि होइन,” उहाँले भन्नुभयो ।

वडाध्यक्ष भुजेलले साविक दमेक गाविस विभाजनपछि वडा नं। ३ मा कुनै पनि सार्वजनिक भवन नरहेको अवस्थामा स्थानीयवासीको सहयोगमा भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयले आफ्ना पितृको स्मृतिमा १० रोपनीभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराएपछि करिब एक करोड रुपैयाँ लागतमा वडा भवन निर्माण गरिएको हो ।

उहाँले बाँकी जग्गामा नेपाने शहरी स्वास्थ्य इकाई भवन निर्माण भइरहेको र १२ लाख रुपैयाँको लागतमा कृषि उपसंकलन केन्द्र समेत निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

साविक दमेक गाविस–८ भातडाँडाका स्थानीय इन्द्रकली पुन, चन्द्रबहादुर पुन, पार्वती पुन, दलबहादुर पुन, ओमबहादुर पाण्डे, उमादेवी पाण्डे, ताराबहादुर पाण्डे, विष्णु पाण्डे, कृष्णबहादुर छन्त्याल र तुलसी छन्त्यालले वडा कार्यालय निर्माणका लागि निःशुल्क जग्गा दान गर्नुभएको थियो । जग्गादाता परिवारलाई कार्यक्रममा मन्त्री शेरचन र हरिहर शर्माले दोसल्ला र सम्मानपत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung