बागलुङ । पृथ्वी होटल व्यवसायी समिति कास्कीको आयोजनामा “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” भन्ने नारासहित एक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार बागलुङ बजारमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, धौलागिरि प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्मा, बागलुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नविन श्रेष्ठ, नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल र बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले पोखरा र बागलुङको पर्यटन प्रवर्द्धन, प्राकृतिक एवंम धार्मिक गन्तव्यहरु, आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्ब्याउने बारेमा, सेवा गुणस्तर सुधार, तथा दिगो पर्यटन विकासका विविध विषयमा आफ्ना धारणा राखेका थिए।
विशेषगरी “प्रकृतिसँग रमाऔं” भन्ने अवधारणालाई जोड दिँदै पोखराको प्राकृतिक सौन्दर्य, ताल, हिमाल र सांस्कृतिक सम्पदालाई अझ प्रभावकारी रूपमा प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिइयो। साथै, होटल व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन आवश्यक रणनीतिहरूबारे पनि छलफल गरिएको थियो।
कार्यक्रमले पर्यटन पुनरुत्थान, सहकार्य अभिवृद्धि र पोखरालाई आकर्षक गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रम बागलुङ होटल व्यवसायी संघका अध्यक्ष तथा होटल व्यवसायी महासंघ नेपालका सचिव निलेश राजभण्डारीको अध्यक्षता, पृथ्वी होटल व्यवसायी समिति कास्कीका अध्यक्ष मोती प्रसाद श्रेष्ठको स्वागत, बागलुङ होटल व्यवसायी संघकी उपाध्यक्ष ललिता थापाको धन्यवाद र पृथ्वी होटल व्यवसायी समिति कास्कीका महासचिव शोभाकान्त चापागाईको संचालनमा सम्पन्न भएको थियो ।













































































































































































































