३ श्रावण २०८३, आईतवार

 

२२ वर्षपछि भिरलाखुरी–पञ्चकोट सडक कालोपत्र

बागलुङ । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोट जाने सडक कालोपत्र सम्पन्न गरिएको छ । नेपालको एकसय पर्यटकीय गन्तव्यको रुपमा समेत सुचिकृत बागलुङको पञ्चकोट जाने सडक खुलेको २२ वर्षपछि कालोपत्र सम्पन्न गरिएको छ ।

बागलुङ नगरपालिका–६ वडा कार्यालयदेखि भिरलाखुरी–पञ्चकोट कालोपत्र सम्पन्न पछि चिल्लो बनाइएको छ । पाँच कोटको संगम स्थल पञ्चकोटलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास भएपछि त्यहाँ पुग्ने सडकलाई पक्की बनाइएको हो ।

संघीय सरकार र बागलुङ नगरपालिकाको समपुरक अनुदानमा मुक्तिनाथ बाबा परिक्रर्मा सडक नाम दिइएको उक्त सडक २०८१ असारदेखि स्तरोन्नति थालिएकोमा अहिले कालोपत्र सम्पन्न भएको छ ।

मुक्तिनाथ बाबा कमलनयनआचार्यको संकल्पमा निर्माण भएको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट पुग्ने सडकको चार किमि सडक केही स्थानमा ढलान र अन्य स्थानमा कालोपत्र गरिएको छ ।

कालोपत्र पछि भिरलाखुरी गाउँ, सिम लगायतका गाउँले मुहारै फेरेका छन् । धुलाम्मे सडकमा सवारी चल्ने गरेकोमा अहिले कालोपत्र पछि सडक चिटिक्क बनेको छ ।

२०६० सालमा ट्रयाक खोलिएको उक्त सडक २२ वर्षपछि कालोपत्र सम्पन्न भएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । ठूलो बजेट लागतमा सडक स्तरोन्नती गरिएको थियो ।

रु ८ करोड ६७ लाख ३६ हजारमा बागलुङ नगरपालिका–६ स्थित वडाकार्यालयदेखि भिरलाखुरी हुँदै पञ्चकोट पुग्ने सडक स्तरोन्नति सम्पन्न भएर समुदायलाई हस्तान्तरण गर्ने चरणमा पुगेको श्रेष्ठले जानकारी दिनुभयो ।

“धार्मिक पर्यटकहरुले धारापानी हुँदै पञ्चकोट जाने साँघुरो सडक प्रयोग गर्दा ठूला सवारी साधनको जाम प-यो” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “स्तरीय चाक्लो सडक बैकल्पिक रुपमा भिरलाखुरी–पञ्चकोट सडकलाई ८ करोड खर्चेर कालोपत्र गरियो, यो सडक समुदायलाई हस्तान्तरण गर्ने तयारी छ, समुदायमा हस्तान्तरण गर्ने उक्त सडक पहिलो हो ।”

प्रिमिक्स प्रविधिद्वारा उक्त सडक कालोपत्र सम्पन्न गरिएको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले बताउनुभयो । पञ्चकोट पुग्ने छोटो र स्तरीय सडकको रुपमा लिइएको उक्त सडकले धार्मिक पर्यटकलाई सहज बनाउने घर्तीको भनाई छ । चार किमि लम्बाई र ५।५ मिटर चौडाई सडक कालोपत्रले गाउँमा विकासको नमूना पेश गरिएको छ ।

१० करोड लागतको डिपिआर निर्माण गरी संघीय सरकारको समपुरकमा बजेट माग गरेकोमा अहिले संघीय सरकार र स्थानीय बागलुङ नगरपालिकाको ५०÷५० प्रतिशत लगानीमा उक्त सडक निर्माण सम्पनन भएको हो ।

२०८१ असारमा जुम्ली आरएस जेभीसंग रु। ८ करोड ६७ लाखमा २०८२ माघ मसान्त सम्म कालोपत्र गर्नेगरी सम्झौता भएको थियो । उक्त सडक समयमै सम्पन्न भएर हस्तान्तरणको तयारी भएको छ । सम्झौता भित्रै काम सक्ने निर्माण व्यवसायीमध्ये जुम्ली आरएस जेभी रहेको घर्तीको भनाई छ ।

सडक स्तरोन्नती भएसंगै पञ्चकोट पुग्ने सवारीसाधन सोही बाटो भएर गुड्न थालिसकेका छन् । बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा पुग्ने भारतीय तथा आन्तरिक पर्यटकलाई सडकले सहज बनाएको वडा अध्यक्ष रुद्र बहादुर केसीले जानकारी दिनुभयो ।

उहाँले पञ्चकोट पुग्ने मुक्तिनाथ बाबा सडक परिक्रमाले सडकले अन्य सडकको तुलनामा २ किमि सडक छोटो भएको बताउनभुयो । मुक्तिनाथ बाबाको परिकल्पनामा निर्माण भएको पञ्चकोटलाई दुईवटा सडकले परिक्रमा गराउने उद्देश्यले उक्त सडक स्तरोन्नति गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung