बागलुङ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य र आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएलरसीएफटीरसीपीएफ) सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा। हरि कुमार नेपालले बीमा क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र यसको व्यवहारिक कार्यान्वयनबारे प्रस्तुति दिएका थिए ।
उनले जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया (केवाईसी), शंकास्पद कारोबार पहिचान तथा अन्तर्राष्ट्रिय अभ्यासबारे विस्तृत जानकारी दिएका थिए । प्रशिक्षण कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा एएमएलरसीएफटी अनुपालन दीर्घकालीन स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रभावकारी अनुपालनले कम्पनीलाई सुरक्षित र दिगो बनाउन सहयोग पुग्ने बताए ।
त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले एएमएलरसीएफटीरसीपीएफ सम्बन्धी कानुनी व्यवस्थाको व्यवहारिक कार्यान्वयनमा जोड दिँदै नियामकीय निर्देशनहरू दैनिक कार्यप्रणालीमै प्रभावकारी रूपमा लागू भइरहेको बताए ।
कम्पनीले यस्तो प्रशिक्षणबाट संस्थागत क्षमता अभिवृद्धि, वित्तीय अपराध न्यूनीकरण, सुशासन र वित्तीय पारदर्शिता सुदृढ गर्न सहयोग पुगेको जनाएको छ । साथै, यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अनुपालन, जोखिम व्यवस्थापन र वित्तीय अनुशासनलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाएको छ ।













































































































































































































