बागलुङ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल सेवा फाउन्डेसन लाई आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले नयाँ बानेश्वरस्थित फाउन्डेसनमा आश्रित बालबालिकाको शिक्षाका लागि वार्षिक अध्ययन शुल्कस्वरूप दुई लाख ४० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ। उक्त सहयोग शम्भवी स्कुलमा अध्ययनरत आठ जना बालबालिकाका लागि उपलब्ध गराइएको हो ।
फाउन्डेसनले स्थापना कालदेखि नै विभिन्न जिल्लाका अनाथ तथा असहाय बालबालिकाको संरक्षण गर्दै आएको छ। हाल संस्थाले ४५ जना बालबालिकाको हेरचाह गरिरहेको जनाएको छ।
सानिमा रिलायन्स लाइफले मानव कल्याण र सामाजिक हितका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ।
कम्पनीले सामाजिक हितसँगै दिगो र जिम्मेवार व्यवसाय विस्तारलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। आगामी दिनमा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउँदै लैजाने योजना रहेको कम्पनीको भनाइ छ।
सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी भुक्तानी प्रक्रियामा सहजता तथा ग्राहक सेवामा सुधारमार्फत आफूलाई विश्वसनीय जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ। हाल कम्पनीले देशभर १६८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।













































































































































































































