बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसंग जोड्न स्याउखेती विस्तार गरेको छ ।गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैचा निर्माण गरेको हो ।
गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधि सहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ । गाउँपालिकाको वडा नम्बर चार स्थित गोरदी र बयलीमा सार्वजनिक जग्गाको झाडी फाडेर स्याउ खेती विस्तार गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।
गाउँपालिकाले वडा कार्यालयको संरक्षणमा स्याउ बगैचा विस्तार गरेको र अहिले स्याउका एक हजार ४०० बिरुवा एक वर्षदेखि हुर्किरहेका छन्” अध्यक्ष बुढाले भन्नुभयो “चार देखि पाँच वर्षमा स्याउ फल्ने गरी मुस्ताङबाट बिरुवा लिएर एक वर्ष अघि लगाइएको छ, गाउँपालिकाले स्याउको प्रतिफल दिन थालेपछि स्थानीयलाई हस्तान्तरण गर्ने योजना छ, गाउँपालिकाले कार्यविधि बनाउछ ।”
पालिकाले गरेको लगानीको प्रतिफल उठाउने र समुदायमा संरक्षणका लागि स्याउ बगैचा हस्तान्तरण गर्ने गरी अहिले वडा कार्यालयले स्याउ बगैचा विस्तार र संरक्षणको काम गरिरहेको छ ।
गाउँपालिकाको ठूलो लगानीमा खेर गएको सार्वजनिक जग्गा सदुपयोग गर्दै कृषिलाई पर्यटन संग जोड्नेगरी काम गरिरहेको तमानखोला गाउँपालका–४ का वडा अध्यक्ष छ प्रसाद श्रीपालीले जानकारी दिनुभयो ।
“गाउँपालिकाले उत्पादनको नीति ल्याएको हो, उत्पादनमा नोजोडिने हो भने गाउँको जमनि खाली हुन्छ, हामीले खेर गएको सर्वाजनिक जग्गा व्यवस्थापन गरेर सिँचाइ सहितको स्याउ बगैचा स्थापना गरेको” श्रीपालीले भन्नुभयो “२४ रोपनी जग्गामा एकसाथ स्याउ फल्दा कृषिमा जोडेर पर्यटनको समेत विकास गर्ने र बयलीमा स्याउ बगैचाको बीचमा रिसोर्ट बनाउने परिकल्पना गरिएको हो ।”
गोरदीमा सातलाख खर्च र बयलीमा ३३ लाख खर्च गरेर तारबार, सिँचाइ सहितको स्याउ बगैचा स्थापना गरिएको हो । सार्वजनिक जग्गालाई तारबार गरेर बिरुवा लगाउदा संरक्षण भएको र उत्पादन समेत खेर जाने समस्या अन्त हुनेछ ।
मुस्ताङबाट पाँच वर्ष भित्रै फल्ने गाला र गोल्डेन जातको स्याउको बिरुवा संभाव्यता अध्ययन गरेपछि लगाइएको गाउँपालिकाका कृषि प्राविधिक विधान बगालेले जानकारी दिनुभयो ।
समुन्द्री सतहदेखी दुई हजार तीन सय मिटरको उचाइमा चिसो मौसममा स्याउ राम्रो फल्ने संभावना रहेको बगालेको भनाई छ । स्याउले उत्पादन राम्रो दिएमा पर्यटनलाई समेत लक्षित गरेर घरबास र रिसोर्ट लगायतको पूर्वाधारमा पालिकाले थप लगानी गर्ने योजना बनाएको छ ।













































































































































































































