३ श्रावण २०८३, आईतवार

 

होली चाइल्ड माध्यमिक विद्यालयमा कोरियन भाषा अध्ययनप्रति विद्यार्थीको आकर्षण बढ्दो

बागलुङ । बागलुङस्थित होली चाइल्ड माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म कोरियन भाषा अध्यापन सफलतापूर्वक सञ्चालन भइरहेको छ।

नेपालस्थित कोरिया गणतन्त्रको दूतावासको सहयोगमा प्राप्त कोरियन भाषा पाठ्यपुस्तकहरूको प्रयोग गरी विद्यालयले विगत दुई वर्षदेखि कोरियन भाषा शिक्षणको पाइलट परियोजना सञ्चालन गर्दै आएको छ।

विद्यालयका अनुसार यस कार्यक्रमबाट विद्यार्थीहरूले अतिरिक्त शुल्क तिरेर अन्यत्र कोरियन भाषा कक्षा लिनुपर्ने आवश्यकता हटेको छ। विद्यालयमै गुणस्तरीय कोरियन भाषा शिक्षा प्राप्त गर्न सकिने भएकाले विद्यार्थी र अभिभावक दुवै लाभान्वित भएका छन्।

विद्यालयका संस्थापक तथा प्राचार्य केवी शाहीले नेपालस्थित कोरिया दूतावासलाई निरन्तररूपमा कोरियन भाषा पाठ्यपुस्तक उपलब्ध गराई सहयोग गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “कोरियन सरकारको नीति अध्ययन, सीप र रोजगारीमार्फत युवाहरूलाई अवसर प्रदान गर्नु हो। कोरियामा अध्ययन तथा कामबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्नै देशमा फर्केर राष्ट्र तथा समुदायको विकासमा उपयोग गर्न प्रेरित गरिन्छ।”

उहाँका अनुसार कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीहरूले कोरियाका विभिन्न विश्वविद्यालयहरूमा शतप्रतिशत छात्रवृत्तिका लागि आवेदन दिन सक्ने अवसर प्राप्त गर्नेछन्।

साथै, कोरियन भाषा अध्ययन गरेका विद्यार्थीहरूले (EPS-TOPIK (Employment Permit System – Test of Proficiency in Korean) परीक्षा उत्तीर्ण गरेपछि दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत वैधानिक रूपमा रोजगारीका अवसरहरू प्राप्त गर्न सक्नेछन्। यसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अनुभव, सीप विकास तथा राम्रो आम्दानीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

नेपालमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को सहकार्यमा सञ्चालन भइरहेको (K-Hami) परियोजनामार्फत कोरियाबाट फर्किएका नेपालीहरूलाई उद्यमशीलता, रोजगारी तथा पुनःएकीकरणका विभिन्न कार्यक्रमहरूमा सहयोग प्रदान गरिँदै आएको छ।

हाल विद्यालयले कक्षा ९ र कक्षा ११ मा नयाँ भर्ना खुला गरेको छ। कोरियन भाषा सिक्न इच्छुक विद्यार्थीहरूका लागि यो सुनौलो अवसर भएको विद्यालय प्रशासनले जनाएको छ। कोरिया दूतावासबाट प्राप्त पाठ्यपुस्तकहरू हात पारेपछि विद्यार्थीहरू उत्साहित भएका छन्।

उनीहरूले विद्यालयमै कोरियन भाषा सिक्ने अवसर प्राप्त हुनु गर्वको विषय भएको बताएका छन्। विद्यालयले भविष्यमा कोरियन भाषा शिक्षालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने योजना समेत अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung