बागलुङ । नेकपा (एमाले) ले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गर्न लागेको ‘पार्टी जागरण अभियान’ अन्तर्गत बागलुङका लागि थप तीन नेतालाई जिम्मेवारी दिएको छ।
पार्टी संगठनलाई सुदृढ बनाउने, जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने तथा निर्वाचन केन्द्रित गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पूर्वकेन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, पूर्वजिल्ला अध्यक्ष हिराबहादुर केसी र नेता कृष्णबहादुर केसीलाई बागलुङमा परिचालन गर्ने निर्णय गरिएको एमालेले जनाएको छ।
यसअघि अभियानका लागि केन्द्रीय सदस्यहरूलाई पालिकागत जिम्मेवारी तोकिएको थियो।
सोअनुसार मनकुमारी केसीलाई बागलुङ नगरपालिका, लिलाबहादुर थापालाई बरेङ गाउँपालिका, गोविन्दबहादुर नेपालीलाई बडिगाड गाउँपालिका, सूर्य पाठकलाई जैमिनी नगरपालिका, सावित्रा रानालाई ताराखोला गाउँपालिका तथा मञ्जु शर्मा चालिसे लाई ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको जिम्मेवारी तोकिएको छ।
अभियानका क्रममा नेताहरूले सम्बन्धित पालिकामा पुगेर पार्टी संगठनको अवस्था, जनचासोका विषय तथा आगामी निर्वाचनको तयारीका बारेमा कार्यकर्ता, शुभेच्छुक र जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ।
एमालेका अनुसार अभियानमार्फत पार्टीका नीति, कार्यक्रम र उपलब्धिलाई जनस्तरसम्म पु¥याउने, संगठन विस्तार गर्ने, सदस्यता अभिवृद्धि गर्ने तथा कार्यकर्तामा नयाँ उत्साह थप्ने लक्ष्य राखिएको छ।
अभियान अन्तर्गत पालिकास्तरीय प्रशिक्षण, घरदैलो तथा जनसम्पर्कका कार्यक्रमसमेत सञ्चालन गरिने बताइएको छ।
पार्टीले स्थानीय तह तथा प्रदेश निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै देशभर पार्टी जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।अभियान सफल बनाउन केन्द्रीय पदाधिकारीबाहेकका सबै केन्द्रीय सदस्यलाई पालिकाकेन्द्रित जिम्मेवारी तोकिएको एमालेले जनाएको छ।













































































































































































































