२३ जेष्ठ २०८३, शनिबार

 

रास्वपा बागलुङको जिल्ला सभापतिमा पुनम शर्मा

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशनबाट पुनम शर्मा जिल्ला सभापतिमा चयन हुनुभएको छ। शनिबार गलकोटमा सम्पन्न अधिवेशनमा निर्वाचन समितिले शर्मालाई सभापतिमा नाम घोषणा गरेको हो।

संघीय सांसद सुशिल खड्का, सोम शर्मा तथा रास्वपा गण्डकी प्रदेश समितिका सदस्य चित्रबहादुर थापा सम्मिलित निर्वाचन समितिले सभापतिका आकांक्षीहरूमध्ये शर्माको नाम सार्वजनिक गरेको थियो।

निर्वाचन समितिका सदस्य तथा सांसद सोम शर्माका अनुसार उपसभापतिमा ढालेन्द्र रायमाझी, सचिवमा लिलबहादुर खत्री ९बबिन०, सहसचिवमा पुष्पा आचार्य तथा कोषाध्यक्षमा डुक मल्ल सर्वसम्मत चयन भएका छन्। अन्य सदस्यहरूको टुङ्गो लगाउने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।

तर नेतृत्व चयन प्रक्रियाप्रति केही नेताहरूले असन्तुष्टि जनाएका छन्। सभापतिका दाबेदार ढालेन्द्र रायमाझीले आफू सभापतिको उम्मेदवार रहेकाले उपसभापतिको जिम्मेवारी स्वीकार नगर्ने बताउँदै निर्वाचन समितिको निर्णय एकपक्षीय भएको आरोप लगाउनुभयो।

त्यस्तै सचिव पदका उम्मेदवार लिलबहादुर खत्री (बबिन) ले पनि आफ्नो सहमतिबिनै पदाधिकारी घोषणा गरिएको भन्दै असहमति जनाउनुभएको छ।

यसअघि निवर्तमान सभापति महेन्द्र खड्काको नेतृत्वमा बसेको कार्यसमिति बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि ढालेन्द्र रायमाझीको नेतृत्वमा नयाँ कार्यसमिति प्रस्ताव गरेको थियो। उक्त प्रस्तावअनुसार उपसभापतिमा पुनम शर्मा, सचिवमा लिलबहादुर खत्री ९बबिन०, सहसचिवमा बालकृष्ण शर्मा, कोषाध्यक्षमा डुक मल्ल तथा सदस्यहरूमा कमल खरेल, देवुजंग बुढा, सङ्गीता भण्डारी थापा र सुनिता विकको नाम सिफारिस गरिएको थियो।

बन्दसत्र सुरु भएपछि सभापति पदका लागि खिमानन्द पौडेल, ढालेन्द्र रायमाझी, पुनम शर्मा र मनोज खड्काले दाबी प्रस्तुत गरेका थिए। चार जनाले सभापतिमा दाबी गरिरहेको अवस्थामा निर्वाचन समितिले पुनम शर्मालाई सर्वसम्मत सभापति घोषणा गरेपछि अन्य दाबेदारहरूले असहमति जनाएका हुन्।

अधिवेशनपछि नेतृत्व चयन प्रक्रियालाई लिएर पार्टीभित्र मतभेद देखिएको छ भने विवाद समाधानका लागि थप छलफल जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung