३ असार २०८३, बुधबार

 

बागलुङका सडक गण्डकीको प्राथमिकता

बागलुङ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमा बागलुङ जिल्लाका सडकलाई प्राथमिकता राखिएको छ । बजेटमा बागलुङको अदालत चौतारी–तित्याङ–सालबोट–भकुण्डे सडक कालोपत्रेका लागि रकम विनियोजन गरिएको छ ।

यस्तै सडकसंगै गोरखाको अवुवा–विर्दि–सेराबजार–पौवाटार सडक, पर्वतको पातीचौर–बाजुङ–क्याङ–नागी सडक, कास्कीको घट्टेखोला–धम्पुस–खानीगाउँ सडक, नवलपरासी (ब.सु.पू.) को आलोक चक्रपथ लगायत ग्रामीण सडक कालोपत्रे गर्न रु ७ करोड ७२ लाख बजेट विनियोजन गरेको अर्थमन्त्री जीत शेरचनले बताउनुभयो ।

त्यसैगरी म्याग्दी र बागलुङ जोड्ने दरवाङ करिडोर तथा तमान–लाममेला–शोले सडकलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । यी सडक आयोजना सम्पन्न हुँदा ढोरपाटन, तमानखोला तथा पश्चिम बागलुङका बस्तीहरूलाई आवागमनमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारले कोराला त्रिवेणी आयोजना अन्तर्गत यी सडकलाई प्राथमिकता दिँदै एक अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।

पर्यटन क्षेत्रतर्फ बागलुङका धार्मिक तथा साहसिक पर्यटन गन्तव्यलाई समेत बजेटले समेटेको छ। दामोदर कुण्ड–मुक्तिनाथ–गलेश्वर–पञ्चकोट–रिडी–रामदी–केलादिघाट–देवघाट–त्रिवेणीधाम जोड्ने धार्मिक पर्यटन परिपथ विकास गर्ने योजना अघि सारिएको छ।

बागलुङको पञ्चकोट र गलेश्वर यस परिपथका महत्वपूर्ण केन्द्रका रूपमा रहेका छन् । ढोरपाटन क्षेत्रको पर्यटन विकासलाई लक्षित गर्दै ढोरपाटन चक्रीय पदमार्गको स्तरोन्नति, वैकल्पिक पदमार्गको पहिचान तथा ढोरपाटनका बुकी संरक्षण र जलाशय निर्माणमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ ।

दामोदर कुण्ड–मुक्तिनाथ–गलेश्वर–पञ्चकोट–रिडी–रामदी–केलादिघाट–देवघाट–त्रिवेणीधाम जोड्ने ‘धार्मिक पर्यटन परिपथ’ विकासमा जोड दिएको शेरचनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung