३ असार २०८३, बुधबार

 

दक्षिणपन्थी कार्यदिशाले नेकपा पराजित भयो : झलनाथ खनाल

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले गत निर्वाचनमा पार्टीले पराजय भोग्नुको मुख्य कारण नेतृत्वले अख्तियार गरेको दक्षिणपन्थी वैचारिक–राजनीतिक कार्यदिशा, नीति र कार्यक्रम भएको बताएका छन्।

खनालले नेकपाका संयोजक पुष्पकमल दाहाललाई २४ पृष्ठ लामो ३६ बुँदे असहमति पत्र बुझाउँदै पार्टीको वर्तमान कार्यदिशामाथि गम्भीर प्रश्न उठाएका छन्।

उनले कुनै पनि देशको क्रान्ति वा निर्माणको ऐतिहासिक प्रक्रियामा त्यसको नेतृत्व गरिरहेको कम्युनिस्ट पार्टीले सही वैचारिक–राजनीतिक कार्यदिशा अपनाएको छ कि छैन भन्ने कुराले नै विजय वा पराजय निर्धारण गर्ने बताएका छन्।

पत्रमा खनालले, “तर कमरेड प्रचण्ड, तपाईंको नेतृत्वको कार्यदिशाले पार्टीलाई कता लैजान खोजिरहेको छ ? सबैले गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ,” भन्दै वर्तमान राजनीतिक दिशाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

उनले पार्टीभित्र देखिएका वैचारिक तथा संगठनात्मक समस्यालाई आधारभूत रूपमा सच्याउन नसकेसम्म पार्टी न एकीकृत हुने, न पुनर्गठित हुने र समाजवादी क्रान्तिले पनि गति लिन नसक्ने बताएका छन्।

“सबै कुराको निर्णय सही नीति र सही नेतृत्वले नै गर्छ भन्ने कुरा अहिलेसम्मका अनुभवले देखाइसकेका छन्,” भन्दै खनालले पार्टी नेतृत्वलाई कार्यदिशा पुनरावलोकन गर्न आग्रह गरेका छन्।

उनले सही कार्यदिशा र सक्षम नेतृत्व निर्माण गर्न नसकिए गम्भीर संकटमा रहेको नेपाली वामपन्थी आन्दोलनलाई पुनर्जीवित गर्न कठिन हुने चेतावनी दिएका छन्।

खनालको असहमति पत्रलाई नेकपाभित्र वैचारिक बहसको महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung