४ असार २०८३, बिहीबार

 

स्वास्थ्य समस्याका कारण कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग

बागलुङ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेकपाका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख महराले आफ्नो ४८ वर्षे राजनीतिक यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक, आम जनता तथा परिवारप्रति कृतज्ञता व्यक्त गरेका छन्।

महराले लामो समयदेखि नसाहरू खुम्चिने ‘एट्रोफी’ रोगबाट पीडित रहेको र नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहेको भए पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएको बताएका छन्।

स्वास्थ्य अवस्थाका कारण पार्टीका नियमित गतिविधि तथा जिम्मेवारी निर्वाह गर्न कठिन भएकाले सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय लिनुपरेको उनको भनाइ छ।

विज्ञप्तिमा उनले आफ्नो निर्णय कुनै राजनीतिक असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई विशुद्ध स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थिति भएको स्पष्ट पारेका छन्।

“पार्टीप्रति कुनै वितृष्णा भएर होइन, स्वास्थ्यका कारण सक्रिय जिम्मेवारीबाट अलग भएको हुँ,” उनले उल्लेख गरेका छन्।

नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हुँदै हालको नेपाली कम्युनिस्ट पार्टीसम्मको यात्रामा आफूले आफ्नो क्षमता अनुसार जनताको सेवामा समर्पित भएर काम गरेको महराले स्मरण गरेका छन्।

माओवादी आन्दोलनका विभिन्न चरणहरूमा योगदान दिएको उल्लेख गर्दै उनले अब नयाँ पुस्ताका ऊर्जावान् युवाहरूले देशलाई समृद्ध, आत्मनिर्भर र विकसित राष्ट्र निर्माणतर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung