बागलुङ । बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा उपाध्यक्ष भिमसेन वनले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षका लागि उक्त आय–व्यय सार्वजनिक गरिएको हो ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ। कुल बजेटमध्ये सामाजिक विकास क्षेत्रका लागि सबैभन्दा बढी ४३ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ६० प्रतिशतभन्दा बढी हो।
त्यसैगरी, पूर्वाधार तथा भौतिक विकासतर्फ १३ करोड ३८ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ भने कृषि, पशुपालन तथा उद्यमशीलता प्रवर्द्धनमार्फत आर्थिक विकासलाई टेवा पुर्याउन करिब १ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

वन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका कार्यक्रमका लागि ४२ लाख रुपैयाँ र संस्थागत विकास तथा सुशासन प्रवर्द्धनका लागि ६५ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
आगामी वर्षका लागि ‘एक वडा एक पर्यटन गन्तव्य’ कार्यक्रम, कृषि उत्पादनमा आधुनिक प्रविधिको विस्तार, स्थानीय उत्पादनको बजारीकरण, आधारभूत अस्पतालमा सेवा विस्तार तथा विद्यालयमा डिजिटल शिक्षाको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ।
गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष २०८२/०८३ मा ६९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको उल्लेख गर्दै चालु योजनाहरू सम्पन्न गर्ने, अधुरा आयोजना पूरा गर्ने तथा विकास निर्माणका कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
नयाँ बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै स्थानीय जनताको जीवनस्तर सुधार र समग्र विकासलाई गति दिने अपेक्षा गरिएको छ।














































































































































































































