बागलुङ । नेपाल आयल निगमले इन्धनको मूल्य उल्लेख्य रूपमा घटाएपछि बागलुङ बजारका दुई पेट्रोल पम्प बन्द भएका छन्। मूल्य समायोजनसँगै आपूर्ति प्रभावित हुँदा उपभोक्ताले इन्धन अभावको सास्ती भोग्नुपरेको छ।
निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ४० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको हो।
मूल्य घटेसँगै बागलुङ बजारस्थित न्यू धौलागिरी इन्टरप्राइजेज र न्यू धौलागिरी इन्टरप्राइजेजका पेट्रोल पम्प तीन दिनदेखि बन्द भएका छन्। पम्प बन्द हुँदा सवारी चालक तथा सर्वसाधारणले इन्धन पाउन कठिनाइ भोगिरहेका छन्।
यस विषयमा सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले बागलुङमा इन्धन अभाव भएको स्वीकार गर्दै साँझसम्म नयाँ मूल्यअनुसार इन्धन आइपुग्ने र वितरण पुनः सुरु हुने बताउनुभयो।
नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा तथा डिजेल–मट्टितेल १९२ रुपैयाँ ५० पैसा कायम भएको छ। दोस्रो वर्गका सुर्खेत र दाङमा पेट्रोल १९६ रुपैयाँ तथा डिजेल–मट्टितेल १९४ रुपैयाँ तोकिएको छ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल १९७ रुपैयाँ तथा डिजेल–मट्टितेल १९५ रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ।
निगमका अनुसार भारतीय आयल कर्पोरेसन ९आईओसी०बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासमा समेत मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको हो।
यससँगै १४।२ किलोग्रामको खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम भएको छ। यसअघि यसको मूल्य २ हजार १६० रुपैयाँ थियो। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाएर १ हजार ५६६ अमेरिकी डलर कायम गरिएको छ।
पोखरा र भैरहवामा भने ‘ब्रेक–इभेन’ अर्थात् नाफा–घाटा नहुने आधारमा क्रमशः १ हजार १०० र १ हजार ८५ अमेरिकी डलर प्रतिकिलोलिटर मूल्य निर्धारण गरिएको निगमले जनाएको छ।














































































































































































































