२२ असार २०८३, सोमबार

 

बागलुङ नगरको नयाँ नीति : छोरी जन्मिँदा १० हजार, ‘एक बोट सयको नोट’देखि सडक र कृषि अनुदानसम्म

बागलुङ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि उत्पादन, रोजगारी, गुणस्तरीय सेवा र दिगो पूर्वाधारलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। १९औँ नगरसभामा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासका नयाँ कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

नगरपालिकाले यसअघि सञ्चालनमा रहेको ‘नगरको छोरी’ कार्यक्रमलाई परिमार्जन गर्दै छोरी जन्मिँदा प्रदान गरिँदै आएको पाँच हजार रुपैयाँलाई बढाएर १० हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेको छ। यस्तै, बाँझो जमिनमा फलफूल, कफी, टिमुर तथा जडीबुटीका बिरुवा रोपेर संरक्षण गर्ने किसानलाई ‘एक बोट, सयको नोट’ कार्यक्रममार्फत चार वर्षसम्म जीवित बिरुवाका आधारमा नगद प्रोत्साहन उपलब्ध गराइने भएको छ।

नीतिअनुसार वडा नं। ९, १० र ११ लाई आगामी वर्षभित्र कालोपत्रे सडक सञ्जालमा जोड्ने लक्ष्य लिइएको छ। बागलुङ बजारको वर्षौंदेखिको भेलपानी समस्या समाधान, बजारका सडक तथा गल्लीको स्तरोन्नति, साना खाल्डाखुल्डी तत्काल मर्मत गर्ने व्यवस्था र बजारलाई हरित तथा व्यवस्थित बनाउने अभियान पनि अघि बढाइनेछ।

कृषि क्षेत्रलाई थप उत्पादनमुखी बनाउन सुन्तलामा प्रतिकेजी १० रुपैयाँ, हरियो तरकारीमा प्रतिकेजी ५ रुपैयाँ, दूधमा प्रतिलिटर ५ रुपैयाँ र अण्डामा प्रतिक्यारेट २० रुपैयाँ प्रोत्साहन अनुदान दिने व्यवस्था गरिएको छ। भैँसीका पाडा–पाडी संरक्षण गर्ने कृषकलाई प्रतिवटा १० हजार रुपैयाँ अनुदान दिने कार्यक्रम पनि समावेश गरिएको छ।

शिक्षातर्फ प्रत्येक वडामा क्रमशः आवासीय विद्यालयको अवधारणा विस्तार, सामुदायिक विद्यालयमा डिजिटल शिक्षण, स्मार्ट बोर्ड, कृत्रिम बुद्धिमत्ता ९ब्क्ष्० र रोबोटिक्समा आधारित शिक्षण प्रणाली विकास गर्ने नीति लिइएको छ। स्वास्थ्य क्षेत्रमा नगर अस्पतालको स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार, विद्यालय नर्स कार्यक्रम तथा स्वास्थ्य बीमा पहुँच विस्तार गरिने उल्लेख गरिएको छ।

सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन, उत्कृष्ट रूपमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने परिवारलाई सम्मान, विपन्न परिवारलाई दाहसंस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग तथा बागलुङलाई ‘बेसहारा सडक मानवमुक्त पालिका’ घोषणा गर्ने लक्ष्यसमेत नगरपालिकाले अघि सारेको छ।

पर्यटन प्रवर्द्धनका लागि धार्मिक तथा प्राकृतिक गन्तव्यको विकास, होमस्टे सञ्चालनमा वार्षिक १५ हजार रुपैयाँसम्म अनुदान, स्थानीय मदिराको ब्रान्डिङमा प्रोत्साहन तथा ‘जाऊ है बागलुङ’ अभियानलाई विस्तार गरिने नीति सार्वजनिक गरिएको छ।

नगरपालिकाले हरित पूर्वाधार, स्मार्ट सिटी अवधारणा, डिजिटल कर प्रणाली, पेपरलेस प्रशासन, विपद् व्यवस्थापनमा ड्रोन प्रयोग तथा आधुनिक फोहोर व्यवस्थापन प्रणाली विकासलाई समेत आगामी आर्थिक वर्षको प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung