बागलुङ। नेपालको वित्तीय प्रणालीलाई अवैध धन शुद्धीकरण, आतंककारी क्रियाकलापमा हुने वित्तीय पोषण र सामूहिक विनाशकारी हातहतियार वित्तीय पोषणको जोखिमबाट जोगाउने उद्देश्यले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआईयू) ले संयुक्त रूपमा एकदिवसीय कार्यशालाको आयोजना गरेका छन्।
गत २१ जुलाईमा काठमाडौंमा सम्पन्न एफएटीएफ मापदण्डसँग तादात्म्य राख्दै अवैध धन शुद्धीकरण निवारण परिपालना प्रभावकारिता अभिवृद्धि शीर्षकको उक्त कार्यशालामा वित्तीय क्षेत्रका १ सय ४० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो।
विज्ञहरूद्वारा सञ्चालित विभिन्न सत्रमार्फत सहभागीहरूले अन्तर्राष्ट्रिय मापदण्ड र मुलुकले पूरा गर्नुपर्ने कार्ययोजना प्रतिबद्धताबीचको तालमेलबारे गहन जानकारी प्राप्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै (एफआईयू) नेपालका निर्देशक बासुदेव भट्टराईले मुलुकको सम्बन्धित संरचना सुदृढ बनाउन सरोकारवाला निकायहरूबीचको समन्वयको आवश्यकतामा जोड दिए।
नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले समेत यस विषयमा आफ्नो धारणा राखे। स्ट्यान्डर्ड चार्टर्डका वरिष्ठ अधिकारीहरूले पनि कार्यक्रममा उपस्थित भई सामूहिक प्रयासको महत्त्वबारे प्रकाश पारेका थिए।
आयोजकहरूका अनुसार यस्ता कार्यशालाले नेपाललाई अन्तर्राष्ट्रिय निकायसमक्ष गरिएको प्रतिबद्धता तोकिएकै समयमा पूरा गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
स्ट्यान्डर्ड चार्टर्डले ज्ञानको आदानप्रदान, क्षमता अभिवृद्धि र प्रमुख सरोकारवालासँगको निरन्तर सहकार्यमार्फत नेपालमा सुदृढ, पारदर्शी र दिगो वित्तीय प्रणाली स्थापनामा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।













































































































































































































