२६ श्रावण २०८३, मंगलवार

 

विदेशी विद्यार्थी आकर्षित गर्न शैक्षिक प्रक्रिया सहज बनाउन सांसद सुशील खड्काको माग

बागलुङ । प्रतिनिधिसभाको बैठकमा सांसद सुशील खड्काले नेपालका सक्षम शैक्षिक संस्थामा विदेशी विद्यार्थी तथा अध्यापक आकर्षित गर्न भर्ना, माइग्रेशन, ट्रान्सक्रिप्ट र समकक्षतालगायत प्रक्रिया सहज बनाउन सरकारसँग माग गर्नुभएको छ ।

उहाँले कृषि तथा वन विश्वविद्यालय, रामपुरले हालै १० जना विदेशी विद्यार्थीलाई भर्ना गरेको विषयलाई ढिलो भए पनि सकारात्मक कदमका रूपमा लिनुपर्ने बताउनुभयो ।

काठमाडौं, पोखरा तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा, इन्जिनियरिङ लगायतका विषयमा विश्वस्तरीय शिक्षा प्रदान गर्न सक्ने दर्जनौँ शैक्षिक संस्था नेपालमा रहेको उहाँको भनाइ थियो ।

सांसद खड्काले नेपाली शैक्षिक संस्थालाई विदेशी विद्यार्थी तथा अध्यापकका लागि आकर्षक बनाउन आवश्यक नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

विदेशी विद्यार्थीलाई अध्ययनका लागि तथा विदेशी अध्यापकलाई अध्यापनका लागि आवश्यक भिसा र काम गर्ने अनुमतिसम्बन्धी प्रक्रिया सहज बनाउन सके आगामी पाँच वर्षमा एमबीबीएस, नर्सिङ, सूचना प्रविधि र इन्जिनियरिङलगायत विषयमा हजारौँ विदेशी विद्यार्थी नेपाल ल्याउन सकिने उहाँले बताउनुभयो ।

विदेशी विद्यार्थी आकर्षित गर्दा नेपाली प्रतिभा विदेशिने क्रम न्यूनीकरण हुनुका साथै ठूलो परिमाणमा विदेशी मुद्रा नेपाल भित्र्याउन सकिने उहाँको भनाइ थियो ।

हाल वार्षिक रु १२४ अर्बभन्दा बढी पूँजी तथा प्रतिभा पलायन भइरहेको उल्लेख गर्दै उहाँले शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि खुला र प्रतिस्पर्धी बनाउन सके त्यसलाई उल्ट्याउँदै ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो ।

सांसद खड्काले विदेशी तथा नेपाली विद्यार्थीका लागि भर्ना, ट्रान्सक्रिप्ट, माइग्रेशन र समकक्षतालगायतका प्रशासनिक प्रक्रियालाई सरल र सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

साथै, नेपाली शैक्षिक संस्थालाई विदेशी विद्यार्थी भर्ना गर्न आवश्यक पर्ने नीति तथा कानुनी व्यवस्था स्पष्ट र सहज बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung