८ भाद्र २०८३, सोमबार

 

धनाढ्य सिकारीको रोजाईमा ढोरपाटन : चार करोड बुझाएर २१ नाउर र ११ झारलको सिकार

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार भएको छ । विदेशी सिकारीले ठेक्का प्रतिस्प्रर्धामा उक्त नाउर र झारल मार्न वन्यजन्तु विभागलाई राजश्व वापत रु. ४ करोड १७ लाख रकम बुझाएका छन् ।

आर्थिक वर्ष २०८२÷८३ मा आरक्ष कार्यालयले तोकेको निर्धारित नाउर र झारलको कोटामा विदेशी सिरकारीहरुले सिकार खेल्न बन्यजन्तु विभागलाई रु. ४ करोड १७ लाख राजश्व बुझाएका थिए ।

ढोरपाटनमा दुई याममा सिकार चल्ने गर्द छ । सिकारीले सिकार खेल्नका लागि प्रतिस्प्रर्धा अनुसार पहिलो याममा रु. तीन करोड तीन लाख ५ हजार राजश्व बुझाएका थिए भने दोस्रो याममा जम्मा रु. एक करोड ४३ लाख ७४ हजार राजश्व बुझाएका थिए ।

आरक्षका रेन्जर सागर सुवेदीका अनुसार गत आर्थिक वर्षको पहिलो सिकार याम (असोज–मङ्सिर) मा ११ नाउर र ८ झारलको सिकार अनुमती पाएर विभिन्न कम्पनीको ठेक्का मार्फत राजश्व बुझाएरका विदेशी सिकारीले जम्मा ८ नाउर र ५ झारलको सिकार गर्न सफल भएका थिए ।

उक्त याममा राजश्व बुझाएर समेत विभिन्न कारणबाट ३ नाउर र ३ झारलको सिकार असफल भएको थियो । पहिलो याममा सिकार खेल्न सिकारीमार्फत कम्पनीले चर्कोप्रतिस्पर्धामा उत्रेको सुवेदीको भनाई छ । उहाँका अनुसार एउटै नाउरलाई २३ लाख सम्म राजश्व बुझाएको पाइएको छ ।

दोस्रो यामका रुपमा रहको (फागुन–वैशाख) मा सिकार अनुमती पाएर १४ नाउर र १० झारलको राजश्व बुझाएका सिकारीहरुले जम्मा १३ नाउर छ झारलको सिकार गरेका थिए भने विभिन्न प्राविधिक कारणले दोस्रो याममा १ नाउर र ४ झारलको सिरकार असफल भएको सुवेदीको भनाई छ ।

ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गोलीगठ्ठामा आएको समस्या, सिकारी विरामी हुने, मौसममा आएको बद्लाव तथा निसाना चुक्ने लगायतका कारण अनुमती दिएर राजश्व बुझाएका केही नाउर र झारलको सिकार नभएको बताउनुभयो ।

नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा नेपालमा सिकार खेलाउन स्थापित कम्पनी मार्फत प्रतिस्र्धामामा चर्को मुल्य खर्चेर धनाढ्य सिकारी ढोरपाटन आउने गरेका छन् । जङ्गली जनावर नाउर र झारलको सिकार गर्न अधिकांश अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सीको लगायतका देशबाट आउने गरेका छन् ।

ढोरपाटन क्षेत्रमा बर्सेनी (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित सिकार ब्लकमा खटाइएको हुन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको संख्या हेरेर वार्षिक रुपमा सिकारका लागि नाउर र झारलको सिकार कोटा तोक्ने गरेको छ । सिकार आरक्ष क्षेत्रलाई सात वटा ब्लकमा विभाजन गरिएको छ । सेङ, बार्से, सुर्तिवाङ, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार गरिएको छ ।

पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टर मार्फत सिकार खेल्न आरक्षमा पुग्ने गरेको पाइन्छ । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको र सरकारलाई बुझाउने राजश्व, हेलिकप्टर, सहयोगी, बन्दोबस्ती लगायतमा एक सिकारीले १५ दिनको सिकार समयमा रु.२० देखि रु.३५ लाख सम्म खर्च गर्ने गरेको पाइएको छ ।

सिकारी सहित नेपाली सेना र आरक्षको समूह अधिकतम १५ दिन जङ्गलमै समय बिताउने गर्दछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले लाखौ खर्च गर्ने गरेको पाइएको छ । अहिले सम्म नाउर र झारल सिकारका लागि नेपाली सिकारीले प्रतिस्प्रर्धा नगरेको आरक्ष कार्यालयको भनाई छ ।

वि.स २०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।

तस्विर सौजन्य :  ढोरपाटन सिकार आरक्ष ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung