बागलुङ । बैंकर्स क्लब बागलुङले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि रु. ६० हजार सहयोग गरेको छ।
क्लबले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी बैंकर्स क्लब बागलुङका अध्यक्ष श्रीजय श्रेष्ठ क्लबका सदस्य तथा ग्लोबल आइएमई बैंक बागलुङका शाखा प्रबन्धक सोकेन्द्र थापा मगरले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभएको हो।
भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
क्लबका सदस्य तथा ग्लोबल आइएमई बैंक बागलुङका शाखा प्रबन्धक सोकेन्द्र थापा मगरले विपद्को कठिन परिस्थितिमा सम्पूर्ण नेपाली एकजुट भएर पीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नुपर्ने बताउनुभयो।
उहाँले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्न सबै क्षेत्रबाट मानवीय सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
















































































































































































