२२ भाद्र २०८३, सोमबार

 

धवलागिरि बचत तथा ऋण सहकारीद्वारा भोटेकोशी बाढीपीडितलाई ५ लाख १७ हजार सहयोग

बागलुङ । काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रु। ५ लाख १७ हजार ५ सय आर्थिक सहयोग गरेको छ ।

सहकारीले सोमबार उक्त रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो । सहकारीका तर्फबाट रु ५ लाख तथा सञ्चालक समितिका तर्फबाट रु १७ हजार ५ सय गरी कुल रु। ५ लाख १७ हजार ५ सय सहयोग गरिएको सहकारीले जनाएको छ ।

रकम हस्तान्तरण गर्दै धवलागिरि बचत तथा ऋण सहकारीका अध्यक्ष महेन्द्रमान शाक्यले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको बताउनुभयो ।

सहकारीका उपाध्यक्ष सम्पूर्णनारायण भारीले प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको संकटपूर्ण अवस्थामा देशभरका विभिन्न संघसंस्था एकजुट भएर राहत तथा सहयोग अभियानमा जुट्नुपर्ने बताउनुभयो ।

सहकारीका सचिव शरद प्रधानले विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको बताउनुभयो ।

गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती प्रभावित भएका थिए । बाढीबाट रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।

विपत्तिपछि सर्वसाधारण, वित्तीय संस्था, आमा समूह, युवा, शिक्षक, कर्मचारी, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्था तथा दाताहरूले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung