२ आश्विन २०८३, शुक्रबार

 

मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग

बागलुङ। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) ले ११ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

मुक्तिनाथ बाबाको संरक्षकत्वमा रहेको अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्ट तथा मुक्तिनाथ परिवारको तर्फबाट उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

विपद्को कठिन घडीमा पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्य, सामाजिक संस्था, धार्मिक संघसंस्था र आम नागरिकबीच राष्ट्रिय एकता, समन्वय र सहकार्य आवश्यक रहेको ट्रस्टले जनाएको छ ।

ट्रस्टले विपद्का समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग पुर्‍याउन नेपाल सरकारसँगको समन्वयमा थप मानवीय सहयोग जुटाउने जनाएको छ ।

साथै, नेपाल तथा विदेशमा रहेका नेपालीलाई स्वेच्छिक रूपमा राहत अभियानमा सहभागी हुन अपिल गरिएको छ ।

मुक्तिनाथ बाबाले विपद्का समयमा पीडित नागरिकको साथमा उभिन सबैलाई आह्वान गर्दै ‘सेवा नै परम धर्म हो’ भन्ने भावनाका साथ मानवीय सेवामा जुट्न आग्रह गर्नुभएको छ ।

विपद् कुनै व्यक्ति, समुदाय वा क्षेत्रको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा पीडा भएकाले यस्तो अवस्थामा सहयोग, सहानुभूति र मानवीय सेवामार्फत पीडितको जीवनमा आशा जगाउनु सबैको साझा दायित्व भएको ट्रस्टले जनाएको छ ।

सहयोग रकम संकलनमा मुक्तिनाथ बाबाको संरक्षकत्वमा रहेका श्रीपञ्चमहालक्ष्मी मन्दिर श्रीपीठ, भक्तपुर, श्रीगजेन्द्रमोक्ष दिव्यधाम, नवलपरासी, श्रीपञ्चकोट विकास परिषद्, बागलुङ, श्रीरामबेटेश्वर मन्दिर, बागलुङ तथा श्रीमुक्तिनाथ सन्त सेवाश्रम, पोखरा लगायतका संस्थाको योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung