बागलुङ । लायन्स क्लब अफ पिस टाउन बागलुङले आफ्नो स्थापना दिवसको अवसरमा धौलागिरि प्रादेशिक अस्पताल बागलुङलाई ह्विलचेयर सहयोग गरेको छ ।
अस्पतालमा उपचारका लागि आउने अशक्त, ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा कमजोर बिरामीलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले ह्विलचेयर प्रदान गरिएको क्लबकी अध्यक्ष शारदा कार्कीले जानकारी दिइन् ।
क्लबका संस्थापक अध्यक्ष सनिशा घर्तीले क्लबको सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना दिवसको अवसर पारेर अस्पताललाई ह्विलचेयर सहयोग गरिएको बताइन् ।
ह्विलचेयर हस्तान्तरण कार्यक्रममा धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। किरण तिवारीले समुदाय तथा सामाजिक संघसंस्थाबाट प्राप्त सहयोग र सहकार्यले अस्पतालको सेवा प्रवाह र गुणस्तर सुधारमा योगदान पुगेको बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले ह्विलचेयर सहयोगले अस्पतालमा भर्ना भएका अशक्त बिरामी, ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिलाई प्रत्यक्ष रूपमा सहयोग पुग्ने बताए ।
















































































































































































