बागलुङ । नेपाली कांग्रेस बागलुङ नगरपालिका–३ को वडा अधिवेशन शनिबार नारायण चोकस्थित लक्ष्मीनारायण मन्दिरमा सम्पन्न भएको छ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य जगदीशचन्द्र उपाध्यायले गर्नुभएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य उपाध्याय, नेपाली कांग्रेस बागलुङका पूर्वसभापति हरिप्रसाद श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य रत्न शेरचनले मन्तव्य व्यक्त गर्नुभएको थियो।
अधिवेशन वडा सभापति रघुराम भारीको अध्यक्षतामा सम्पन्न भएको हो। वडा अधिवेशनबाट नयाँ नेतृत्व भने आइतबार चयन गरिने भएको छ।
आइतबार हुने निर्वाचनमा वडाका ३१७ जना क्रियाशील सदस्यले २१ सदस्यीय वडा कार्यसमिति र ३२ जना क्षेत्रीय प्रतिनिधि चयन गर्नेछन्। नेतृत्व चयन सर्वसम्मत वा निर्वाचन प्रक्रियामार्फत हुने वडा सभापति भारीले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
वडा सभापति र क्षेत्रीय प्रतिनिधिले पार्टीको आगामी जिल्ला, प्रदेश तथा महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुने र सम्बन्धित तहको नेतृत्व चयनमा मतदान गर्ने अधिकार पाउनेछन्। साथै, पार्टीको विधानअनुसार सम्बन्धित तहमा उम्मेदवार बन्ने अधिकारसमेत रहनेछ।
यसैबीच, नेपाली कांग्रेस बागलुङका तत्कालीन सभापति जीत शेरचनले असोज ३ गतेदेखि सुरु हुने अधिवेशन प्रक्रिया अघि नबढाएपछि नेपाली कांग्रेस केन्द्रीय नेतृत्वले निर्वाचन प्रक्रिया अगाडि बढाउन तारानाथ पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो।
केन्द्रीय नेतृत्वको निर्णयपछि बागलुङ कांग्रेसको वडा अधिवेशन प्रक्रिया अघि बढाइएको हो।
















































































































































































