४ आश्विन २०८३, आईतवार

 

ढल्यो राजनीतिक व्यक्तित्व : प्रधानपञ्चदेखि जिविस सभापतिसम्म

बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङका नेता तथा सामाजिक व्यक्तित्व टिकाराम सापकोटाको ९३ वर्षको उमेरमा निधन भएको छ । बागलुङ नगरपालिका–४ कुडुँलेमा विसं १९९३ भदौ ४ गते जन्मनुभएका सापकोटाको शनिबार पोखरामा निधन भएको हो ।

गाउँको मुखियादेखि तत्कालीन कालिका गाउँपञ्चायतको प्रधानपञ्चसम्मको जिम्मेवारी सम्हाल्नुभएका उहाँ तीन कार्यकाल प्रधानपञ्च बन्नुभएको थियो । त्यसैगरी शाहीकालमा उहाँजिल्ला विकास समिति बागलुङको सभापतिसमेत बन्नुभएको थियो ।

राजनीतिक रूपमा राप्रपासँग आबद्ध सापकोटा लामो समय पार्टीको जिल्ला अध्यक्षका रूपमा सक्रिय रहनुभएको थियो । उहाँले करिब तीन दशक राप्रपा बागलुङको नेतृत्वमा रहेर राजनीतिक तथा सामाजिक गतिविधिमा योगदान पु-याउनुभएको थियो ।

राजनीतिसँगै धार्मिक तथा सामाजिक क्षेत्रमा समेत उहाँको सक्रियता थियो । सापकोटा कालिका भगवती गुठी व्यवस्थापन समितिका पूर्वअध्यक्ष, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका पूर्वउपसभापति, धवलागिरि माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष तथा सापकोटा कल्याण केन्द्रका अध्यक्षसमेत रहनुभएको थियो ।

सामाजिक क्षेत्रमा सक्रिय रहँदा सापकोटाले धार्मिक, शैक्षिक तथा सामाजिक संस्थाको विकासमा योगदान पु-याउनुभएको पारिवारिक तथा सामाजिक स्रोतले जनाएको छ ।

सापकोटाको निधनले बागलुङले लामो समय राजनीतिक, सामाजिक तथा धार्मिक क्षेत्रमा सक्रिय पुरानो पुस्ताका एक नेतृत्वकर्ता गुमाएको छ । उहाँका श्रीमती लिलावती सापकोटा, तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung