बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै बागलुङ कांग्रेसमा दुई छुट्टाछुट्टै धारबाट महाधिवेशनका गतिविधि अघि बढेका छन्।
कांग्रेसको गाउँ तथा नगर अधिवेशन चलिरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको तयारीका लागि बागलुङमा सम्पर्क कार्यालय स्थापना गरेको छ। बिहीबार बागलुङ नगरपालिका–२ बाघचोकमा देउवा पक्षले १५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय स्थापना गरेको हो।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेसका पूर्वसभापतिहरू मणिभद्र शर्मा कँडेल, दीपेन्द्र थापा र जितबहादुर शेरचनलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
सम्पर्क कार्यालय उद्घाटन गर्दै पूर्वसभापति मणिभद्र शर्मा कँडेलले आफूहरू नियमित महाधिवेशनको पक्षमा रहेको बताउनुभयो। पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्न नियमित महाधिवेशन आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले पार्टीको चुनाव चिह्न ‘रुख’सम्बन्धी विषय अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै पार्टीलाई सम्भावित संकटबाट जोगाउन विधि र विधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा देउवा पक्षले बागलुङमा महाधिवेशन तयारीको संयोजकको जिम्मेवारी पाएका सागर छन्त्याललाई पदभारसमेत ग्रहण गराएको थियो। कांग्रेसको १५औँ महाधिवेशनका लागि देउवा पक्षले बागलुङमा छन्त्याललाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ।
छन्त्यालले १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा र पालिका तहसम्म अधिवेशनका गतिविधि सञ्चालन भइरहेको बताउनुभयो। उहाँले आफूहरू बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्तअनुसार पार्टीलाई अघि बढाउने पक्षमा रहेको बताउनुभयो।
कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रियालाई लिएर दुईवटा तयारी अघि बढिरहेका छन्। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्तावसहित असोज १५ गते वडा, असोज २० गते पालिका, असोज २३ गते क्षेत्रीय, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
















































































































































































