बागलुङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले कांग्रेसमा नयाँ पुस्तालाई राजनीतिमा अर्थपूर्ण रूपमा जोड्ने वातावरण निर्माण भएको बताएकी छन्।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ बागलुङको क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै खड्काले युवा पुस्ताले खोजेको अवसर, रोजगारी, शिक्षा, प्रविधि, उद्यमशीलता र नेतृत्वका विषयलाई राजनीतिक बहसको केन्द्रमा राख्न आवश्यक रहेको बताइन्।
उनले महिलाको सहभागिता संख्यामा मात्र सीमित नभई निर्णय प्रक्रियामा प्रभावकारी र सम्मानजनक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

अधिवेशनमा आउने विचार र मतभिन्नतालाई लोकतान्त्रिक संस्कारका रूपमा ग्रहण गर्नुपर्ने बताउँदै खड्काले फरक विचारलाई सम्मान गर्ने, स्वस्थ बहस गर्ने र निर्णय भएपछि त्यसलाई संस्थागत रूपमा स्वीकार गर्दै अघि बढ्ने संस्कार नै लोकतान्त्रिक राजनीतिको आधार भएको बताइन्।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू जगदीशचन्द्र उपाध्याय र भीमबहादुर श्रीस राना, पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य रत्ना शेरचन, गण्डकी प्रदेश कोषाध्यक्ष एवं बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, कांग्रेस बागलुङका पूर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, पूर्व पार्टी सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव हरिहर शर्मा, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका उपसभापति एवं प्रदेश ‘ख’ का सभापति दलबहादुर श्रीस राना तथा अक्षयकोष दाताहरूको तर्फबाट कृष्णशंकर श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सो अवसरमा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ ले संगठनको संस्थागत विकास, सुदृढीकरण, नियमित गतिविधिको निरन्तरता तथा दिगो आर्थिक स्रोत व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरेको अक्षयकोषमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सचिव जयराम भारीले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष दिननाथ गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै प्रदेश ‘क’ का सचिव माधवप्रसाद उपाध्याय र प्रदेश ‘ख’ का सचिव बालकृष्ण शर्माले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए।


प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ बागलुङका सभापति चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम क्षेत्रीय कार्यसमितिका उपसभापति एवं प्रदेश ‘क’ का सभापति हरिबहादुर जिसी ‘सन्तोष’को स्वागत तथा सचिव जयराम भारीको सञ्चालनमा सम्पन्न भएको थियो।
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ। नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। सर्वसम्मत नेतृत्व चयन हुन नसके बुधबार मतदान गर्ने तयारी गरिएको छ।
असोज १० गतेका लागि निर्धारण गरिएको अधिवेशन अत्यधिक वर्षाका कारण आजबाट सुरु भएको हो। अधिवेशनमा करिब १ हजार ३ सय प्रतिनिधिको सहभागिता रहेको छ।
















































































































































































