१३ आश्विन २०८३, मंगलवार

 

युवा नेतृत्वको एजेन्डासहित कांग्रेस प्रदेश प्रतिनिधिमा विदेश श्रेष्ठले दिए उम्मेदवारी

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नं १ बाट विदेश कुमार श्रेष्ठले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठले जनजाति कोटातर्फ प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएका हुन्।

बागलुङ नगरपालिका–२ का वडा सदस्यसमेत रहेका श्रेष्ठले जनताको आवश्यकता र मागअनुसार विकास निर्माण तथा सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनी बागलुङ बजारमा लामो समयदेखि हार्डवेयर व्यवसायमा समेत संलग्न छन्।

सुशासन, दिगो विकास, जनताप्रति उत्तरदायी लोकतन्त्र र जवाफदेही कांग्रेस निर्माण गर्नुपर्ने धारणा राख्ने श्रेष्ठले पार्टीभित्र वैकल्पिक नेतृत्व निर्माण, पुस्तान्तरण, संगठन सुधार तथा युवा सहभागिताका विषयमा लामो समयदेखि बहस गर्दै आएका छन्।

“युवा पुस्ताको आवाज पार्टीमा स्थापित गर्न र युवालाई नेतृत्व तहमा पु¥याउन मेरो उम्मेदवारी हो,” श्रेष्ठले नयाँ विश्वसँग भने।

वडा तहको बजेट तथा विकास निर्माणका विषयमा समेत चासो राख्दै आएका श्रेष्ठले सर्वसाधारण नागरिकका माग सम्बोधन गर्न तीनै तहका सरकारको बजेट तथा कार्यशैलीमा सुधार आवश्यक रहेको बताए।

युवाको आकांक्षा र बदलिँदो आवश्यकता सम्बोधन गर्दै नयाँ नेपाल निर्माणका लागि स्थानीयदेखि संघीय तहसम्म विकासको प्राथमिकता र बजेट विनियोजनमा सुधार गर्नुपर्ने उनको भनाइ छ।

पार्टीभित्र युवा पुस्ताको सहभागिता बढाउँदै नयाँ नेतृत्व विकास गर्ने उद्देश्यसहित आफू प्रदेश प्रतिनिधिको उम्मेदवार बनेको श्रेष्ठले बताएका छन्।
े

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung