बागलुङ । विपद्सँग जुधिरहेको बागलुङका बाढीपहिरो प्रभावित परिवारलाई गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले १२ लाख रुपैयाँभन्दा बढीको राहत सामग्री सहयोग गरेको छ।
एनआरएनएले निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिकाका बाढीपहिरो प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यक सामग्री जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराएको हो।
एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाका अनुसार निसीखोला गाउँपालिकाका बाढीपहिरो प्रभावितका लागि ७ लाख रुपैयाँ र ताराखोलाका प्रभावितका लागि ५ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरिएको छ।
निसीखोला गाउँपालिकाका वडा नं ३, ४ र ५ का ६८ बाढीपहिरो प्रभावित परिवारलाई करिब ७ लाख रुपैयाँ बराबरको चामल, दाल, तेल, चिउरा, सोयाबिन, आलु, चाउचाउ र चिनी लगायतका खाद्यान्न सामग्री उपलब्ध गराइएको छ।
त्यस्तै, ताराखोला गाउँपालिकाका बाढीपहिरो प्रभावित परिवारका लागि ५ लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराइएको सापकोटाले जानकारी दिनुभयो।
प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्ने गरी एनआरएनएले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई राहत सामग्री हस्तान्तरण गरेको हो।
राहत सामग्रीमा लत्ताकपडासँगै पावर बैंक, टर्चलाइटलगायतका अत्यावश्यक विद्युतीय सामग्री समेत रहेका छन्।
एनआरएनएका प्रवक्ता सापकोटाले प्रमुख जिल्ला अधिकारी आचार्यलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो। राहत हस्तान्तरण कार्यक्रममा संसद्को पूर्वाधार विकास समितिका सभापति तथा सांसद आशिष गजुरेल, बागलुङका सांसद सोम शर्मा लगायत सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
















































































































































































