बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक खन्ने क्रममा पहिरो खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापा रहेका छन्। उनीहरूको उद्धार गर्ने क्रममा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो।
सोमबार बिहान काप्रा–बोहरागाउँ–छापाखानी–प्युठान सडकखण्ड निर्माण तथा स्तरोन्नतिको काम भइरहेका बेला मजदुरमाथि अचानक माटोको ढिस्को खसेको थियो। पहिरोमा तीन जना मजदुर पुरिएका थिए।
घटनामा रोल्पाका कृष्ण घर्तीमगर गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चालक भद्र मल्लले चलाएको लु १ क ३४४६ नम्बरको जेसीबीले सडक स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेपछि मजदुरहरू पुरिएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















































































































































































