बागलुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्।
खनालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यसहित समाजवादी जागरण अभियान सुरु गरिएको घोषणा गरेका हुन्। उनले समाजवादतर्फ अघि बढ्नुको विकल्प नरहेको भन्दै सबै वामपन्थी शक्तिबीच वैचारिक बहस र एकताको आवश्यकता रहेको बताए।साथै अभियानको हालै बसेको बैठकले विभिन्न १५ बुँदे प्रस्ताव पारित गरेको जानकारी गराइएको छ ।
यसअघि शनिबार खनालको नेतृत्वमा काठमाडौंमा विशेष वैचारिक भेला भएको थियो। भेलामा नेकपा तथा विभिन्न वामपन्थी समूहका ७० भन्दा बढी नेता तथा कार्यकर्ता सहभागी भएको बताइएको छ। भेलाले वामपन्थी आन्दोलनलाई राजनीतिक तथा वैचारिक रूपमा नयाँ ढंगले पुनर्गठन गर्न समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
खनालले केही समयदेखि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी विचार र नयाँ कार्यदिशाका आधारमा पुनर्गठन गर्नुपर्ने धारणा राख्दै आएका थिए। उनले विभिन्न कम्युनिस्ट समूह र नेताहरूसँग छलफल गर्दै व्यापक वामपन्थी एकताको आवश्यकता औँल्याउँदै आएका थिए।
अभियानमा नेकपाबाट बाहिरिएका पूर्वमाओवादी नेता हरिबोल गजुरेललगायतका नेताहरूको समेत साथ रहेको बताइएको छ।
खनालले अभियान कुनै पार्टी विभाजनका लागि नभई वामपन्थी शक्तिलाई जोड्ने र व्यापक वामपन्थी एकताको आधार तयार गर्ने उद्देश्यले अघि बढाइएको बताएका छन्।
यसअघि पार्टीभित्र फरक मत राख्दै आएका खनालले नेकपा परित्याग गरेपछि नयाँ राजनीतिक अभियान घोषणा गरेका हुन्।
















































































































































































