बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिमा बागलुङबाट तीन जना मनोनित भएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले बागलुङ क्षेत्र नं १ बाट जगन्नाथ आचार्य र पार्वती आचार्य तथा क्षेत्र नं २ बाट भिमकुमारी क्षेत्रीलाई महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो ।
नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को धारा ५१ १० (क) बमोजिम सभापतिले महाधिवेशन प्रतिनिधि मनोनित गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बागलुङबाट क्षेत्र नं १ मा दुई जना र क्षेत्र नं। २ मा एक जना मनोनित भएका हुन् ।
आइतबारदेखि सञ्चालन भइरहेको १५औँ महाधिवेशनमा बागलुङबाट निर्वाचित महाधिवेशन प्रतिनिधिसँगै पार्टी सभापतिबाट मनोनित प्रतिनिधिहरू पनि सहभागी भएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट समावेशीसहित विभिन्न ८० क्लस्टरबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि मंगलबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ ।
मनोनयन दर्तापछि असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।
















































































































































































