२१ आश्विन २०८३, बुधबार

 

सह-महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म : कांग्रेसमा बागलुङका २० उम्मेदवार

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका २० जना नेताले विभिन्न पद र क्लस्टरबाट केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गराएका छन्। बागलुङबाट यसपटक केन्द्रीय नेतृत्वमा यति ठूलो संख्यामा उम्मेदवारी परेको यो पहिलो पटक हो।

मंगलबार भएको उम्मेदवारी दर्तामा डिल्लीराम सुवेदीले खुलातर्फ सह-महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्यमा खस–आर्य खुलातर्फ जगदिशचन्द्र उपाध्याय, खस–आर्य महिलातर्फ चम्पादेवी खड्का र खुलातर्फ टेकराज पौडेलले उम्मेदवारी दिएका छन्।

त्यस्तै, जनजाति खुलातर्फ भिमबहादुर श्रीस र द्रोणकुमार कुँवर तथा जनजाति महिलातर्फ रेणुका काउचाले उम्मेदवारी दर्ता गरेका छन्। केन्द्रीय सदस्यमा हरि आचार्य,सहिद परिवारतर्फ मञ्जेशबम मल्ल, खुला युवातर्फ सुजन सापकोटा र उषा सापकोटा तथा दलिततर्फ सागर परियारले उम्मेदवारी दिएका छन्।

गण्डकी प्रदेश भूगोलतर्फ खुलामा विष्णु पौडेल ‘दारी’ र युवातर्फ पवन आचार्यले उम्मेदवारी दिएका छन्। अल्पसंख्यकतर्फ अर्जुन शेरचन, खुला महिलातर्फ गण्डकी थापा अधिकारी तथा दलित महिलातर्फ दिलमाया रामदाम पौवीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, एसिया–प्यासिफिक क्षेत्रबाट डण्डपाणी कँडेल ‘डिपी’ तथा युरोप क्लस्टरबाट शालिक गौतम र पूर्णबहादुर हमालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

बागलुङबाट ठूलो संख्यामा नेताहरूले केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिएपछि जिल्लामा निर्वाचन परिणामलाई लिएर चासो बढेको छ। विभिन्न पद र क्लस्टरमा उम्मेदवारी दिएका नेताहरूको राजनीतिक पृष्ठभूमि र महाधिवेशन प्रतिनिधिहरूको मतले निर्वाचन परिणाम निर्धारण गर्ने भएकाले बागलुङका कांग्रेसजन पनि परिणामको प्रतीक्षामा छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट समावेशीतर्फका विभिन्न क्लस्टरसहित ८० वटा क्लस्टरबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैछ। नयाँ कार्यसमिति चयनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम सम्पन्न भएको हो।

निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

तस्बिर पिपुल्सखबरबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung