२३ आश्विन २०८३, शुक्रबार

 

नेपाल लाइफको ‘स्टार अवार्ड’ सम्पन्न, १ हजार ६४ उत्कृष्ट अभिकर्ता सम्मानित

बागलुङ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशका सातै प्रदेशमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२र८३’ कार्यक्रमको श्रृंखला सम्पन्न गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान गर्दै उनीहरूलाई थप व्यावसायिक रूपमा सक्षम र उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार असोज ४ गते इटहरीबाट सुरु भएको कार्यक्रम असोज ५ गते बर्दिबास, असोज ७ गते बुटवल, असोज ८ गते नारायणगढ, असोज ११ गते काठमाडौं, असोज १२ गते धनगढी, असोज १३ गते सुर्खेत हुँदै असोज १५ गते पोखरामा सम्पन्न भएको हो।

कार्यक्रममा कुल २ हजार ५ सय ८१ उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता रहेको थियो। सो क्रममा उत्कृष्ट प्रदर्शन गर्ने १ हजार ६४ जनालाई ‘स्टार अवार्ड’बाट सम्मानित गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, सेल्स तथा मोटिभेसन प्रशिक्षक किशु झा, पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ता सञ्जाल कम्पनीको व्यवसाय विस्तार र ग्राहकसँगको सम्बन्ध निर्माणको महत्वपूर्ण आधार रहेको बताए। उनले अभिकर्ताहरूलाई अनुशासन, जिम्मेवारी र व्यावसायिक आचरणलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।

कम्पनीले अभिकर्ताहरूलाई समान अवसर, सम्मान तथा व्यावसायिक विकासका अवसर प्रदान गर्दै आएको उल्लेख गर्दै उनले बीमा सेवाप्रति आमविश्वास थप बलियो बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताए।

साथै उनले हालैका विपद्का घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे। विपद्बाट प्रभावित अभिकर्ता तथा बीमितको अवस्था पहिचान गरी आवश्यक सहयोगका लागि पहल भइरहेको उनले जानकारी दिए।

नेसनल सेल्स हेड उमापति पोखरेलले उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई बधाई दिँदै आगामी दिनमा थप प्रतिबद्धता, ऊर्जा र व्यावसायिक सोचका साथ अघि बढ्न आग्रह गरे। उनले कम्पनीको वृद्धि, ग्राहक सेवा तथा बीमाको पहुँच विस्तारमा अभिकर्ताहरूको निरन्तर योगदान महत्वपूर्ण रहेको बताए।

पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्य​​​​​​क्ष ओमबहादुर केसीले अभिकर्तासँग सम्बन्धित ऐन, नियमावली तथा व्यावसायिक सरोकारका विषयमा आवश्यक सुधारका लागि संघले निरन्तर पहल गरिरहेको बताए। उनले सामाजिक सञ्जालमा तथ्यहीन तथा भ्रामक सामग्री सम्प्रेषण नगर्न र व्यावसायिक जिम्मेवारीप्रति सचेत रहन अभिकर्ताहरूलाई आग्रह गरे।

पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले सम्मानित अभिकर्ताहरूलाई बधाई दिँदै उनीहरूको योगदानले कम्पनीको व्यावसायिक यात्रालाई थप मजबुत बनाएको बताए। उनले सम्पूर्ण अभिकर्ताहरू एकजुट भएर थप मेहनतका साथ कम्पनीको बजार हिस्सा विस्तार गर्नुपर्नेमा जोड दिए।

कम्पनीका अनुसार ‘स्टार अवार्ड’लाई सम्मानमा मात्र सीमित नराखी अभिकर्ताहरूको प्रेरणा, ज्ञान अभिवृद्धि, व्यावसायिक क्षमता विकास तथा अनुभव साझेदारीको प्लेटफर्मका रूपमा समेत सञ्चालन गरिएको हो।कार्यक्रममार्फत कम्पनीले उत्कृष्ट कार्यसम्पादनको कदर गर्नुका साथै अभिकर्ता सञ्जालसँगको सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung