बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले खोजमूलक तथा विश्लेषणात्मक समाचार लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले रु. १० लाखको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ ।
पहिलो चरणको अभियानबाट रु. १० लाखको लक्ष्य पूरा गरी कोष सञ्चालनमा ल्याइएको शाखाका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले जानकारी दिनुभयो । कोषमा देशविदेशमा रहेका विभिन्न व्यक्ति तथा शुभेच्छुक सङ्घसंस्थाबाट सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।
विसं २०८१ मङ्सिर २८ गते सम्पन्न शाखाको आठौँ अधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको पहिलो बैठकले लेखनवृत्ति कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार विसं २०८१ माघ २६ गते औपचारिक समारोहमा कोष स्थापनाको घोषणा गरिएको थियो । शाखाका पदाधिकारी तथा सदस्यहरूको योगदानबाट सुरु भएको कोषमा अन्य दाताहरूको समेत स्वतःस्फूर्त सहयोग जुटेको कोषाध्यक्ष गौतमले बताउनुभयो ।
महासङ्घका सचिव नारायण रिजालका अनुसार कोषबाट प्राप्त ब्याज रकमबाट बागलुङलाई कार्यक्षेत्र बनाएर खोजमूलक समाचार लेख्ने दुई जना पत्रकारलाई जनही रु. ५० हजारका दरले लेखनवृत्ति प्रदान गरिनेछ ।
लेखनवृत्ति वितरणका लागि आवश्यक कार्यविधि निर्माण भइरहेको र प्रक्रिया पूरा भएपछि यथाशीघ्र लेखनवृत्ति प्रदान गरिने सचिव रिजालले बताउनुभयो । लेखनवृत्तिका लागि पत्रकार छनोट गर्न विज्ञ सम्मिलित समिति गठन गरिनेछ । उक्त समितिको निर्णयका आधारमा योग्य पत्रकारलाई लेखनवृत्ति प्रदान गरिने उहाँको भनाइ छ ।
महासङ्घले औपचारिक समारोह आयोजना गरी लेखनवृत्ति प्रदान गर्ने तयारी गरेको छ । सोही अवसरमा कोषमा योगदान गर्ने दाताहरूलाई सम्मान गरिनेछ भने सहयोगदाताहरूको नामावली ताम्रपत्रमा समेत अङ्कित गरिने जनाइएको छ ।
शाखाका अध्यक्ष राम थापा ‘अविरल’ले पत्रकारिताको गुणात्मक विकाससँगै खोज पत्रकारिताप्रति आकर्षण बढाउने उद्देश्यले लेखनवृत्ति कोष स्थापना गरिएको बताउनुभयो ।
“सार्वजनिक सरोकारका विषयमा प्रभावशाली रिपोर्टिङ गर्ने पत्रकारलाई लक्ष्य गरी लेखनवृत्ति कोष स्थापना गरिएको हो,” उहाँले भन्नुभयो, “यसबाट पत्रकारहरूबीच खोजी रिपोर्टिङमा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत हुनेछ ।”
पहिलो चरणमा रु. १० लाखको कोष स्थापना गरिए पनि यसको रकम वृद्धि गर्ने अभियान निरन्तर जारी रहने अध्यक्ष थापाले बताउनुभयो । पत्रकारको पेसागत हकहित संरक्षण तथा क्षमता अभिवृद्धिमा महासङ्घ केन्द्रित रहेको उहाँको भनाइ छ ।
















































































































































































