बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गर्ने तयारी गरिएको छ। सिकारको वार्षिक कोटा निर्धारणका लागि आरक्षले प्रत्येक पाँच वर्षमा यी वन्यजन्तुको संख्या गणना गर्दै आएको छ।
चालु आर्थिक वर्षको दोस्रो चौमासिक सुरु भएसँगै गणनाका लागि प्राविधिक तथा आरक्षका कर्मचारीलाई सातवटै सिकार ब्लकमा परिचालन गर्ने तयारी गरिएको आरक्ष कार्यालयले जनाएको छ। नाउर र झारलको गणना ‘टाउको गन्ने’ विधिबाट गरिनेछ।
आरक्षअन्तर्गत सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सातवटा सिकार ब्लक छन्। सबै ब्लकमा गणना गरिनेछ। कोरोना महामारीका कारण नियमित समयभन्दा एक वर्ष ढिलो गरी विसं २०७९ मा गरिएको पछिल्लो गणनामा एक हजार २९० नाउर र ७४४ झारल फेला परेका थिए।
गणनाबाट प्राप्त नतिजा, वन्यजन्तुको उमेर तथा लिङ्ग संरचनाका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको वार्षिक कोटा निर्धारण गर्ने गरेको छ। आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार हाल वार्षिक १९ देखि २४ नाउर र १४ देखि १९ झारलसम्म सिकारको कोटा निर्धारण हुने गरेको छ। पछिल्लो गणनापछि नाउरको वार्षिक कोटा २० वटामा कायम गरिएको थियो।
“यसपटकको गणनापछि प्राप्त नतिजाका आधारमा सिकारको कोटा थपघट हुन सक्छ,” रेञ्जर सुवेदीले भन्नुभयो। गणनाबाट वयस्क नाउर र झारलको संख्या, भाले तथा पोथीको अनुपात र पाठापाठीको अवस्थासमेत यकिन गरिने उहाँले बताउनुभयो। गणनामा रेञ्जर, भरिया तथा सिकारसम्बन्धी अनुभव भएका स्थानीयवासी सहभागी हुनेछन्।
नाउर र झारल बाख्रा प्रजातिमा पर्ने वन्यजन्तु हुन्। ढोरपाटनमा हरेक वर्ष असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा वैधानिक सिकार खुला गरिन्छ। चालु आर्थिक वर्षको पहिलो सिकार याम सुरु भइसकेको छ। यस याममा १० नाउर र सात झारलको सिकारका लागि कोटा निर्धारण गरिएको छ।
आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार सिकारको अनुमति पाएका विदेशी सिकारी नेपाल आउन थालेका छन्। अमेरिका, रुस, स्पेन, दक्षिण अफ्रिका र नर्वेलगायत देशबाट व्यावसायिक सिकारी ढोरपाटन आउने गरेका छन्।
वैधानिक सिकारका लागि ढोरपाटन विश्वमै परिचित गन्तव्य मानिन्छ। साहसिक यात्रा र सिकारको अनुभव लिन विदेशी सिकारी हेलिकप्टरमार्फत समेत आरक्ष पुग्ने गरेका छन्। सिकारबाट प्राप्त राजस्व वन्यजन्तु संरक्षण तथा आरक्ष व्यवस्थापनको महत्वपूर्ण स्रोतका रूपमा रहेको छ।



















































































































































































