१५ बैशाख २०८१, शनिबार

 

आर्थिक प्रलोभन देखाएर यौन प्रस्ताव राख्ने उपमेयरको श्रीमान होटलबाट पक्राउ

काठमाडौं । महिलालाई फोन मार्फत अश्लील शब्द प्रयोग गरी यौन प्रस्ताव राखेको आरोपमा एकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका –७ खजानी बस्ने ३९ वर्षीय जयन्त कुश्वाहा रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

कुशवाहलाई पीडित महिलाको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले प्रहरीलाई सूचना दिई कुशवाहासङ्ग बुधबार निजगढमा भेट्ने योजना बनाएको प्रहरीको भनाई छ । कुशवाहाले पीडित महिलालाई करिब एक महिना अघिदेखि आर्थिक प्रलोभन देखाइ फोन मार्फत शारीरिक सम्पर्कका लागि दबाब दिदै आएको प्रहरीले बताएको छ ।

निजगढस्थित गुरुङ होटेलबाट साझ ५ः३० बजे प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही थालेको छ । पक्राउ परेका कुशवाह सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिना कुशवाहको श्रीमान रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्