१५ बैशाख २०८१, शनिबार

 

म्याग्दीका युवा विस्फोटक पदार्थसहित भारतमा पक्राउ

काठमाडौं । नेपाल भित्राउने तयारीमा रहेका विस्फोटक पदार्थसहित  भारतको पश्चिम बंगालमा एक नेपाली नागरिक पक्राउ परेका छन् । शनिबार नेपाल छिराउने तयारी भैरहेका बेला विस्फोटक पदार्थ सहित पक्राउ परेको भारतीय संचार माध्यमले जनाएको छ ।

न्यूज अफ इण्डियाका अनुसार पश्चिम बंगालको सिलगुढीमा पक्राउ परेका ती व्यक्तिको नाम चरण रोका रहेको जनाइएको छ । २६ वर्षिय ती नेपालीलाई भारतको सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको हो ।

उनको साथबाट बिस्फोटक सामग्री समेत बरामद भएको जनाइएको छ । उनले गन पाउडर, इलेक्ट्रिकल डिटोनेटर र अन्य बम बनाउने रासायनिक सामग्री समेत बोकेकाे भारतीय प्हरीकाे दाबी छ ।  उनलाई सशस्त्र सीमा बलका जवानले पेट्रोलिङका क्रममा समातेको समाचारमा उल्लेख छ । उनको घर म्याग्दी जिल्लाको रुमा गाउँमा भएको  जानकारी हुन अाएकाे छ ।  सो विस्फोटक पदार्थ लिएर उनी नेपाल छिर्ने प्रयासमा थिए । प्रहरीका अनुसार उनको साथबाट निओजेल पावरजेल विस्फोटक पदार्थ प्रतिगोटा १२५ ग्राम रहेका २०५ प्याकेट र ३५५ वटा स्टीक सहितको इलेक्ट्रिक डिटोनेटर फेला परेको प्रहरीले जनाएको छ ।

नेपालमा हिंसात्मक गतिविधिमा संलग्न समुह नेत्र विक्रम चन्द विप्लव समूहक रहेको आशंका गरिएको छ । केही दिनअघि कपिलवस्तुमा प्रहरीले छापा मारेर केही हतियार सहित विप्लवका कार्यकर्ता पक्राउ गरेको थियो । कपिलवस्तुलाई नाका बनाउदै आएको विप्लव समुहले पछिल्ला दिनमा मार्ग परिवर्तन गरेर भएपनि भारतबाट हतियार नेपाल भित्र्याउने गरेको भारतीय समाचार पत्रले  जानकारी गराएका छन् ।  नेपाल सरकारले गत फागुन २८ गते विप्लव समुहका गतिविधीलाई मन्त्रीपरिषद्बाट बन्देज लगाएको छ । आइतवार फेरी गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै विप्लव समुहलाई सघाउने समुहलाई समेत कारवाही गर्ने चेतावानी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्