६ जेष्ठ २०८१, आईतवार

 

कांग्रेस भन्छ—चुनाव बैशाख ३१ मै हुन्छ

१८ बैशाख, ललितपुर । नेपाली कांग्रेसले स्थानीय तहको चुनाव बैशाख ३१ मै हुने बताएको छ । २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावलाई ऐतिहासिक भन्दै कांग्रेसले त्यसको पूर्ण सदुपयोग गर्ने जनाएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा असन्तुष्टि जनाउँदै पार्टीका नेता बिमलेन्द्र निधिले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएपछि चुनावमा आशंका व्यक्त भइरहेका बेला कांग्रेसले चुनाव कुनै हालतमा नसर्ने जनाएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार भेटघाटमा चुनाव प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले भने, ‘नेपाली कांग्रेस यो निर्वाचन ३१ गते नै सम्पन्न गर्ने कुरामा प्रतिबद्ध छ । हामीले अठोट गरेका छौं तोकिएको समयमा सम्पन्न हुन्छ । यसका कार्यक्रमहरु तोकिएको समयमा सम्पन्न हुन्छन् ।’

निर्वाचनको प्रचार प्रसार जारी राखेको कांग्रेसले उम्मेदवार छनोटको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ । कांग्रेस शीर्ष नेताहरु पार्टी कार्यालय सानेपामै उम्मेदवार छनोटको गृहकार्यमा जुटेको नेता लेखकले जानकारी दिए । उनले आकांक्षी धेरै भएको स्थानमा पार्टीले बिधि र पद्दती अनुसार उम्मेदवारको टुंगो लगाउने बताए ।

उनले भने, ‘धेरै ठाउँमा निर्विवादरुपले स्थानीय तहमै हाम्रा पार्टीका निकायहरुले, हाम्रा पार्टीका समितिहरुले उम्मेदवारी चयन गरेको अवस्था छ भने कतिपय बढी आकांक्षी साथीहरु रहेको ठाउँमा पार्टीले आफ्नो पद्दती अनुसार उम्मेदवारको अन्तिम चयन गर्ने तयारी गरेको छ । आज बिहानदेखि पनि नेताहरु त्यो काममा लाग्नु भएको छ ।’

 

— अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस्