काठमाडौं, १८ बैशाख । राष्ट्रिय जनमोर्चा र नयाँ नेपाल राष्ट्रिय पार्टी बीच एकता भएको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दुई पार्टीहरुवीच एकताको घोषणा गरेका छन् ।
जनमोर्चाकी नेता एवम सांसद दुर्गा पौडेलले सरकारले ल्याएको परिमार्जनसहितको संशोधन प्रस्तावलाई राष्ट्रिय हितको विपरितमा रहेको आरोप लगाएकी छिन् ।
उनले भनिन्,‘आज हाम्रो देशले निक्कै दर्दनाक स्थितिको सामना गरिरहेको छ, तर सरकारले यस्तो स्थितिमा नगर्ने काममा हात हालिरहेको छ, प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन हाम्रो सरकार व्यस्त छ, निर्वाचनको समयमा यस्ता अनेकन नचाहिने नाटक देखाएर दुनियाँ हसाई रहेको छ, यी कुराहरु राष्ट्रिय जनमोर्चालाई कदापि स्विकार्य छैन्, राष्ट्रियतालाई कुर्सीसँग साट्न हामी तायार छैनौँ, बरु जुनसुकै मूल्य चुकाउन तयार छौँ।’
त्यस्तै कार्यक्रममा नयाँ नेपालका कार्यबहाक अध्यक्ष पृथ्वी थापाले जनमोर्चाले तयार पारेको घोषणा पत्र, विधान र नेतृत्वलाई स्विकार गर्दै आफ्नो पार्टी एकतामा आएको बताए ।
उनले भने,‘हाम्रो पार्टी र राष्ट्रिय जनता पार्टी यो देशमा नभएको भए संघियताका नाममा देश विभाजनतर्फ उन्मुख हुनेथियो तर हामीले त्यो हुन दिएनौ, यसको एकमात्र उदाहरण जातीय राज्य र क्षेत्रिय राज्य हो, जनताले कदापि पनि यस्तो हुनदिने छैनन्।’
जनमोर्चाका नेता आनन्द शर्माले देश जर्जर अवस्थामा गुर्जिरहेको बताउँदै सबैलाई गम्भिर हुनु आग्रह गरेका छन् । नेता शर्माले राष्ट्रियता, जनतन्त्र, जनजिविका, विद्यमान राजनीति, सामाजिक स्थितिलाई ध्यानमा राखेर आगामी निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई जनताले शक्तिशालि पार्टी बनाउने समेत बताए ।
कार्यक्रममा राष्ट्रि जनमोर्चा तथा नयाँ नेपाली राष्ट्रिय पार्टीका नेता कार्यकर्ताले नेपालमा श्रमिकहरू स्थितिका बारेमा चिन्ता व्यक्त गरेका थिए ।
















































































































































































