
बागलुङका शिक्षासेवी एवम् कर्मठ समाजसेवी हेमराज शर्मा पौडेलको निधन भएको छ । ८६ वर्षीया पौडेलको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको हो । पौडेलको पार्थिक शरीरलाई बागलुङ ल्याई बुधबार कालिगण्डकी तटमा अन्येष्टी गरिएको छ । स्वर्गीय पौडेललाई व्यवस्थापिका ससंद्का सदस्य प्रकाश शर्मा पौडेल, बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल लगाएत विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति र सयौं सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
वि.सं. १९८९ सालमा हालको बागलुङ नगरपालिका–१२ पैंयुपाटामा जन्मनुभएका पौडेल समाज सुधारकको रुपमा परिचित हुनुहुन्थ्यो । बागलुङको शैक्षिक, सामाजिक विकासमा अमुल्य योगदान पु¥याउनुभएका पौडेलको निधनले सबैलाई स्तब्ध तुल्याएको छ । पौडेलले वि.सं. २००७ सालदेखिनै बलेवा लगाएत बागलुङका विभिन्न क्षेत्रमा विद्यालय स्थापनाको अभियान चलाउनुभएको थियो । उहाँले स्थापना गरेका विद्यालय अहिले क्याम्पसमा स्तरोन्नति भएका छन् ।
शिक्षाको जागरण फैलाउन पौडेलको अतुलनीय योगदान रहेको पैंयुपाटामै जन्मनुभएका सासंद् प्रकाश शर्मा पौडेलले बताउनुभयो । ‘बागलुङको शैक्षिक, सामाजिक क्षेत्रको उहाँ अगुवा हुनुहन्थ्यो’ पौडेलले भन्नुभयो ‘उहाँको निधनले अपुरणीय क्षति पुगेको छ ।’ पुैंयुपाटाको त्रिभुवन मावि र बलेवा पैंयुपाटा बहुमुखी क्याम्पस पौडेलकै प्रयासमा स्थापना भएको उहाँको भनाइ छ । तत्कालिन समयमा स्वास्थ्यचौकी, मठ, मन्दिर, पाटी, बाटोघाटो निर्माणमा पनि पौडेलको योगदान ठूलो योगदान रहेको उहाँका समकक्षीहरु बताउँछन् ।
धार्मिक प्रवृत्तिका पौडेलले आफ्नो जीवनकालमा दर्जनौं सामाजिक, शैक्षिक, धार्मिक संघसंस्थामा बसेर नेतृत्व प्रदान गर्नुभएको थियो । २००७ सालको परिवर्तनपछि पौडेलले गाउँमा ‘हलो क्रान्ति’ चलाउनुभएको थियो । ब्रम्हाण परिवारका पौडेलले हलो जोत्दा तत्कालिन समयका मुखिया, ठालुहरुले उहाँलाई सामाजिक बहिष्कार समेत गरेका थिए । जहिल्यै परिवर्तन पक्षमा उभिनुभएका पौडेलले राजनीतिक भूमिकामा पनि सक्रिय रहनुभएको थियो । २०३० सालमा धवलागिरि अञ्चल पञ्चायतका सभापति बन्नुभएका पौडेल २०३६ सालमा नेपाली काँग्रेसमा आवद्ध भई राजनीतिमा सक्रिय हुनुभएको थियो ।
पौडेलले तत्कालिन सरकारबाट गोरखा दक्षिण बाहु लगाएतका अन्य पदक तथा सम्मान प्राप्त गर्नुभएको थियो । स्व. पौडेललाई २०७० सालमा सुगङ्गा स्मृति कोषबाट सुगङ्गा सम्मान समेत प्रदान गरिएको थियो । उहाँको व्यक्तित्वलाई अमर राख्न बागलुङमा हेमराज शर्मा प्रतिष्ठान पनि स्थापना गरिएको छ । उक्त प्रतिष्ठानले विभिन्न रचनात्मक काम र गतिविधिहरु सञ्चालन गर्दै आएको छ । शर्माका धर्मपत्नी र दुई छोराहरु हुनुहुन्छ ।
रासस