२६ बैशाख २०८१, बुधबार

 

थ्रिल क्यानोनिङ

नेपालमा व्यावसायिक रूपमा विकास हुँदै गएको साहसिक खेल क्यानोनिङका लागि भोटेकोसीपछि यो मेरो दोस्रो यात्रा थियो । यसपटकको रिभर भेन्यु थियो नुवाकोटको ककनी । हरियो शिवपुरी निकुञ्जको फेदीमा रहेको गाउँको नाम हो पौवाथोक ।

काठमाडौंबाट ३२ किलोमिटर । रोमानिया, जापान र फ्रान्सका केही विदेशी पाहुनासहित नेपाली पर्यटक बोकेर आयोजक क्यानोनिङ एसोसिएसन गाउँले रुटमा चल्ने एउटा पुरानो बस रिजर्भ गरेर पौवाथोक पुग्दा ११ बजिसकेको थियो । म त्यो बस पछिपछि बाइकमा थिएँ ।

आकाश कुनै बेला खुल्थ्यो । कुनै बेला बादलले छपक्कै ढाक्थ्यो । बालाजु कटेपछि काउलेथाना पुगिन्छ । त्यहाँबाट नुवाकोट सदरमुकाम जाने सडक नगई ढुंगा छापेको बाटो भएर ओरालो लाग्नुपर्छ । यो शिवपुरी निकुञ्जको मध्यवर्ती क्षेत्र पर्दोरहेछ । र, यसको सौन्दर्य बयान गरिरहनुपर्दैन ।

जंगल कटेपछि देखियो, भोटोथानसिंह । अर्थात् पहिलेको ककनी गाविस ८ को पौवाथोक अहिलेको ककनी गाउँपालिका वडा नम्बर ५ । यस वडाबाट भर्खरै चुनाव जितेका माओवादी वडा अध्यक्ष राम लामा थिङ स्वदेशी/विदेशीलाई स्वागत गरिरहेका थिए । स्ट्रबेरी, ट्राउट, मूला र अलैंची खेती यहाँको नगदे बाली रहेछ । सिँचाइ कुलो लाग्ने धान खेती पनि छ ।

पौवाथोकको वीरेन्द्र प्रावि स्कुल छेउमै खाजा खाएपछि हामी धान रोपाइँका लागि तयार पारिँदै गरेका खेतका आली भएर सिदुरे खोलातर्फ ओर्लियौं । शुक्रबार रातिको पानीले गर्दा सेतो खोला धमिलो थियो । जुका लाग्न सुरु भइनसकेकाले हरियो घाँसमा जता बस्दा नि हुने रहेछ । एसोसिएसनको कार्यसमितिका केही पदाधिकारी र अध्यक्ष राजेन्द्र लामा खोला, गाइड डबिन्द्रलगायत १० जनाको टिम डिलमा क्यानोनिङ गराउने तयारी गर्दै थिए ।

केहीबेरमा सुरु भयो साहसिक अनि रोमाञ्चकारी क्यानोनिङ । मेरो कुपन नम्बर थियो ४२ । दोस्रो लटमा मेरो पालो आयो । ढुंगामा खोपिएका एंकरमा बाँधिएका डोरीको सहायताले खोलामा ओर्लिनु खुबै आनन्दकारी भयो । यसपटक हामी सिदुरे खोलाको भुलभुलेमा थियौं । पहिलो छाँगा १२ मिटर लामो थियो । त्यहाँबाट ओर्लिएपछि ६५ मिटर लामो छाँगा अर्थात् झरना थियो । यो माथिबाट हेर्दा मुटु नै झस्काउने थियो । धेरै खेलाडीलाई यसमा आच्छु आच्छु पर्‍यो । तर, पानीको वेगमा चिप्लिँदै, घिस्रिँदै, ओर्लिंदै प्रकृतिलाई नजिकबाट नियाल्नु बेग्लै आनन्द अनुभुत हुने रहेछ ।

फ्रान्सबाट उत्पत्ति भएको अनि अफ्रिकामा कुल्फिङ भनिने यो साहसिक खोला ओर्लिने यात्रामा प्राय: सबै रमाए । बाहिरबाट आएकाहरूले झरनामा डोरीको सहायताले ओर्लिएको देखेपछि यहाँको आमा समूहका महिला क्यानोनिङ गर्न तयार भए । ‘हामीले नजरअन्दाज गरेको खोला साहसिक पर्यटकीय प्रोडक्ट हुन सक्नेरहेछ भन्ने भान परेको छ,’ वडा अध्यक्ष थिङ भन्दै थिए, ‘अब हामी यहाँ होमस्टे पनि चलाउँदै क्यानोनिङ थाल्छौं ।’

एसोसिएसनले दुई दिनमा १ सय ७० जनालाई यो भुलभुलेको झरनामा डोरीको सहायताले ओराल्यो । छाँगावरोहण पनि भनिने यो साहसिक गतिविधि विश्वकै पुरानोमध्येको भए पनि अहिले नेपालमा वार्षिक १ हजार हाराहारी पर्यटक यसमा रमाउने गरेका छन् । झाडीतिर पैदल हिँड्ने हाइकरहरूले पत्ता लगाएको भनिने यो खेलमा प्रकृतिलाई एकदमै नजिकबाट स्पर्श गर्दै स्लाइडिङ गर्न मात्रै मिल्दैन । तपाईं चिप्लो ढुंगामा ओर्लिनुहोस्, चिप्लिनुहोस् अनि पानीमा उफ्रेर पौडिनुहोस् । सबै यो प्याकेजभित्र छन् । आनन्द कति लिने तपाईंमा भर पर्छ ।

-सुरज कुँवर, हेलो शुक्रबारबाट

प्रतिक्रिया दिनुहोस्