१ जेष्ठ २०८२, बिहीबार

 

अख्तियारले थाल्यो साझाको छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनको अनियमितताबारे छानबिन सुरु गरेको छ । आयोगबाट बुधबार खटिएको टोलीले साझाको आर्थिक र उत्पादन कारोबारसम्बन्धी सम्पूर्ण फाइल अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । आयोगमा साझाका कर्मचारीले साउन २५ गते भ्रष्टाचार छानबिन र कारबाहीको मागसहित उजुरी दर्ता गरेका थिए । साझाका बारेमा शिक्षा मन्त्रालय र सार्वजनिक लेखा समितिले पनि अनुसन्धान गरिरहेको छ ।

अख्तियार प्रवक्ता जीवराज कोइरालाले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले करोडौं रकम भ्रष्टाचार गरेको उजुरीका आधारमा फाइल नियन्त्रणमा लिएको बताए । उनका अनुसार महाप्रबन्धक शर्माविरुद्ध संस्था प्रवेश नै साझा प्रकाशन कर्मचारी प्रशासन नियमावलीविपरीत भएको लगायत विभिन्न ११ बुँदे उजुरी दर्ता भएको छ ।

शर्माकी श्रीमतीका नाममा अक्सफोर्ड पब्लिकेसन र समिसम प्रकाशन नामक संस्था छन् । समान प्रकृतिको संस्थाका सञ्चालकलाई साझा प्रकाशनमा पदाधिकारी बनाउनु नियमवाली (नियम ३८.४) विपरीत छ । अर्थ मन्त्रालयले २०७१ मंसिरमा दायित्व बढाउन नपाइने भनी दिएको निर्देशन र निर्वाचन आचारसंहिताविपरीत ८८ जनाभन्दा बढी कर्मचारी शर्माले नियुक्त गरेको उजुरीमा उल्लेख छ । उजुरीमा मन्त्रालयको निर्देशनविपरीत भर्ना गरिएका कर्मचारीलाई भुक्तानी गरिएको तलब तथा अन्य सुविधासमेत महाप्रबन्धकबाट असुलउपर गर्न माग गरिएको छ ।

संस्थाको मुख्य आम्दानी कक्षा ११ र १२ को पाठ्यपुस्तक ‘सबैको नेपाली’ छपाइबाट हुने हो । महाप्रबन्धक शर्माले ०७२ मा उक्त कक्षाको पाठ्यपुस्तक छाप्न सम्झौता अर्कैका नाममा गरी मुद्रण भने आफ्नै समिसम प्रेसबाट गरेका थिए । एक लाख थान मुद्रण गर्न लगिएको भए पनि ३८ हजार थान मात्र संस्थामा पाठ्यपुस्तक ल्याई बाँकी अक्सफोर्ड र गणेश इन्टरनेसनल संस्थाबाट बिक्रीवितरण गरिएको थियो । यसले राष्ट्रिय परीक्षा बोर्ड र लेखकले पाउनुपर्ने १०/१० प्रतिशत रोयल्टी भुक्तानी हुँदा कट्टा हुने १५ प्रतिशत आयकर पनि ठगी भएको छ । यसबाट शर्माले करोडौं रुपैयाँ अवैध आम्दानी गरेको र साहित्यिक सिर्जनाको प्रतिलिपि अधिकारसमेत हनन भएको उजुरीमा उल्लेख छ ।

उजुरीमा उल्लेख भएअनुसार महाप्रबन्धक शर्माले ०७३ मा आफ्ना नाममा रहेको समिसम मुद्रणालयलाई कथित रूपमा बेचेको र अल्पाइन अफसेट प्रेसको थोत्रो वेभ मेसिन प्रक्रिया नपुर्‍याई भाडामा लिएका छन् । २०७४ मा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायत जिल्लाका लागि ५ हजार थान पाठ्यपुस्तकमा हिज्जे गलत भएकाले सच्चाएर प्रकाशित गरिएको थियो । यी पुस्तक गोदाममै छन्, बिक्री भएका छैनन् । तर, बजारमा यी किताब जतासुकै पाइने भन्दै शर्माकै प्रेसबाट अवैध रूपमा छापी उनकै पसलबाट बिक्री गरिएको हो ।

कर्मचारीका अनुसार साझाको पुल्चोकस्थित केन्द्रीय कार्यालय परिसरको जग्गा सहकारी बैंकको लिलामबाट बचाउन सरकारले ३० करोड रुपैयाँ दिएको थियो । तर उक्त रकममध्ये १४ करोड रुपैयाँबाहेक बाँकी रकम मनोमानी ढंगले खर्च गरिएको छ । साझाका आफ्नै छापाखाना र कम्प्युटर छन् । लेखकबाट पाण्डुलिपि टाइप भएर प्राप्त हुने नियम छ । तर कम्प्युटर टाइपिङ, प्रुफिङका नाउँमा लाखौं रुपैयाँ भुक्तानी भएको छ ।

संस्थामा लेखा, प्रशासन, छापाखानालगायत केन्द्रीय विभागमा महाप्रबन्धकपछि २ जना वरिष्ठ अधिकृत द्वितीय तहका कर्मचारी छन् । स्थायी कर्मचारी हुँदाहँुदै पनि आर्थिक अनियमितता गर्न करारमा नियुक्त गरेकालाई जिम्मेवारी दिएको र करोडौं रकम पर्ने जिन्सी सामान भएको शाखा प्रमुखमा पनि आफूनिकट कर्मचारी नियुक्त गरी जिम्मेवारी दिई रकम हिनामिना गरेको अरोप छ । त्यस्तै, सार्वजनिक खरिद ऐनविपरीत बिनाटेन्डर कागज खरिद, आफू संलग्न रहेको अल्पाइन अफसेट प्रेसबाट वेभ छपाइ मेसिन भाडामा लिइएको छ । उक्त मेसिन सञ्चालनको हिसाब पनि परदर्शी नभएको कर्मचारीको गुनासो छ ।

सञ्चालक समितिको अधिकारी भएको भन्दै पटकपटक कर्मचारी प्रशासन नियमावली संशोधन गरी संस्थागत संरचना भत्काउने गरेको पनि कर्मचारीले बताए । शर्मालाई तत्काल महाप्रबन्धक र अध्यक्ष पदबाट हटाउनुपर्ने, एकै व्यक्तिलाई संस्थाको अध्यक्ष र महाप्रबन्धक दुवै दिन नहुने, शिक्षा मन्त्रालयले चाँडै ‘साझा प्रकाशन सञ्चालन कार्यव्यवस्था नियमावली’ जारी गर्नुपर्नेलगायत माग कर्मचारीको छ ।

महाप्रबन्धक शर्माले भने अख्तियारले फाइल लगेकामा खुसी व्यक्त गरे । ‘संस्थाको खातामा एक रुपैयाँ पनि नभएको अवस्थामा करोडौं रुपैयाँ अनियमितता गरेको भन्ने आरोप झूटो हो भन्ने पुष्टि हुन्छ,’ उनले दाबी गरे । ‘संस्थाको ११ वर्षयता नभएको लेखा परीक्षण गर्न करारमा प्रक्रिया पुर्‍याई ६ महिनाका लागि लेखामा २५, प्रेसमा २५, पत्रिकामा १, परियोजनामा ७ र अन्यमा १४ गरी ७२ कर्मचारी नियुक्त गरेका हौं,’ उनले भने, ‘संस्थाका मेसिन पुराना र अत्यन्तै ढिला काम गर्ने भएकाले वेभ छपाइ मेसिन भाडामा नभई ‘फ्रि’ मा ल्याएको हो,’ उनले दाबी गरे, ‘साथै प्रत्येक वर्ष संस्थाले पाठ्यपुस्तक छाप्न नभ्याई बाहिरका संस्थालाई दिने गरेअनुसार समिसम मुद्रणालय र अल्पाइन अफसेट प्रेसलाई दिइएको हो ।’

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung